कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव मनाएको छ।
सन् २००७, १६ डिसेम्बरका दिन सुरु भएको कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव मनाएको हो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंले कलेजको स्थापना कालदेखि नै आफू भिजिटिङ फ्याकल्टीका रूपमा यस संस्थासँग आबद्ध रहेको स्मरण गरे।
उनले कान्तिपुर डेन्टल कलेज काठमाडौं विश्वविद्यालयको अग्रणी (लिडिङ) कलेज भएकाले लामो समयदेखि अस्पतालका गतिविधिमा संलग्न रहँदै आएको बताए। कलेजबाट उत्पादन भएका डेन्टल जनशक्ति देशका हरेक क्षेत्रमा पुगिसकेको उल्लेख गर्दै उनले डेन्टल स्नातकहरू केवल ‘जबसिकर’ मात्र नभई ‘जब क्रिएटर’ समेत बनेर उद्यमशीलता विकासमा योगदान दिइरहेको बताए।
कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले १८ वर्षको यात्रामा संस्थासँग जोडिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै गुणस्तरीय डेन्टल शिक्षालाई कलेजको मुख्य प्राथमिकता बनाइएको बताए। उनले कलेजको प्रगतिमा शिक्षक तथा कर्मचारीको अतुलनीय योगदान रहेको उल्लेख गरे। सामाजिक उत्तरदायित्वभन्दा पनि माथि उठेर नियमित रूपमा गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिए।

कार्यक्रममा प्रविधिसँगै शिक्षण–सिकाइमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै गुणस्तरीय शिक्षामा निरन्तर जोड दिन आग्रह गरिएको थियो।
चिकित्सा शिक्षा आयोगका निर्देशक डा. सुदीप आचार्यले नेपालमै आइसोलेटेड डेन्टल कलेजका रूपमा बीडीएस अध्ययन गर्न सकिने अवस्था बनेकाले विद्यार्थीहरू बाहिर जानु नपरेको बताए। उनले कलेजसँग सम्बन्धित समस्याहरू संस्थागत रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी चिकित्सा शिक्षा आयोगका निर्देशक डा. सजन बाबु मरहट्टाले शुभकामना मन्तव्य दिँदै नेपालमा डेन्टल शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न मेडिकल कलेज, विश्वविद्यालय, आयोग तथा सरोकारवाला सबै मिलेर अघि बढ्नुपर्ने बताए। उनले ज्ञान र सीप मात्र नभई गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्राडा. रविन्द्र मान श्रेष्ठले सन् २००७ देखि अध्यापन सुरु गरेको कलेज काठमाडौं विश्वविद्यालयको पहिलो र अग्रणी डेन्टल कलेजका रूपमा स्थापित भएको बताए।
कार्यक्रममा अस्पतालकी डाइरेक्टर डा. प्रदिक्षा श्रेष्ठले अघिल्लो वर्ष विभिन्न विभागमा उपचार गरिएका बिरामी संख्या, थप गरिएका सेवाहरू तथा भावी योजनाबारे जानकारी दिइन्। केडीसी जनरल अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीले अस्पतालले सुपर स्पेसियालिटी तथा स्पेसियालिटी सेवाहरू प्रदान गर्दै आएको बताए।
त्यसैगरी हालै स्थापना गरिएको न्युरो–मस्कुलर डेन्टिस्ट्री, टीएमजे, फेसियल पेन एण्ड फेसियल डिसअर्डर सेवाबारे डा. ज्योति नेपालले जानकारी गराइन्।
वार्षिकोत्सवको अवसरमा कलेजले विभिन्न विभागका उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई सम्मानसमेत गरेको थियो।
हाल कान्तिपुरले काठमाण्डौं विश्वविद्यालयको सम्बन्धनमा व्यचलर ईन डेन्टल सर्जरी (बीडिएस), मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तथा वि.एस्सी. इन ल्याव मेडिसिन साथै २०६९ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धनमा सर्टिफिकेट इन डेन्टल साइन्स (डेन्टल हाइजिनिष्ट) तथा डिप्लोमा इन फार्मेसी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
स्थापनाकाल देखि यस शिक्षण अस्पतालले १ लाख ५० हजार भन्दा बढी दन्त स्वास्थ्य विरामीहरुमा सेवा पुऱ्याउनुको साथै व्यचलर ईन डेन्टल सर्जरी (बीडिएस) तर्फ ५सय ७१ जना र मास्टर इन डेन्टल सर्जरी’ (एमडीएस) तर्फ ४१ जना विशेषज्ञहरु उत्पादन गरि सकेको छ । साथै सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ ७६१ जना र डिप्लोमा इन फार्मेसी कार्यक्रम मार्फत ३३० जना जनशक्ति उत्पादन गरिसकेको छ।
कलेजले आफ्नो शैक्षिक कार्यक्रम तर्फ यसैवर्ष देखि दुई वर्षे कार्यक्रम एमएस्सी इन पब्लिक हेल्थ (एमपीएच)को लागि काठमाण्डौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगद्वारा स्विकृती पाएको छ।
त्यसैगरी केडीसीले २०७० साल अश्विन महिना देखि १ सय शैयाको जनरल हस्पिटल समेत समचालन गरिरहेको छ।
मुख स्वास्थ्यमा सुधार ल्याउनको लीग यस मुलुकका ७० भन्दा वढी जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जानकारी गराउनुका साथै देशका विभिन्न ठाउँहरुमा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालयदन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

