मानसिक स्वास्थ्य सचेतना अभियान -२०८२ शुभारम्भ

काठमाडौँ, २४ मंसिर । मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ गरिएको छ । तीन महिने यो अभियानको आज स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले एक समारोहका बीच शुभारम्भ गरिन् ।
‘स्वस्थ मन, स्वस्थ जीवन’ ‘मनको कुरा गरौँ’ भन्ने नारासहितको यो अभियान आज देखि मार्च १४ सम्म सञ्चालन हुने छ ।
यद्धपी आकस्मिक रुपमा ल्याइएको कारण यो अभियानका लागि आवश्यक पर्ने बजेट तथा स्रोत भने अभाव भएको अधिकारीहरुले बताएकमा छन् ।
स्वास्थ्यको नेतृत्व सम्हाल्दै गर्दा अघि सारेका छ वटा प्राथमिकता मध्ये मानसिक स्वास्थ्य एक भएको भन्दै मन्त्री डा. शर्माले अभियान सुरु गरेको बताईन् ।
‘कात्तिक ९ मा मन्त्री भएकी हुँ । विदा कटाउने हो भने मन्त्री भएर काम गर्न थालेको एक महिना जति भयो होला तर यस अवधीमा यति ठूलो कार्यक्रम शुभारम्भ गर्न सक्यौँ,’ खुशी हुँदै मन्त्री शर्माले भनिन् ।
उनले अभियानका लागि आवश्यक बजेट यसपटक रकमान्तर गरेरै भए पनि जोहो गरिने बताईन् । मन्त्री डा शर्माले युवा तथा किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सर्ब पक्षीय रुपमा कदम चाल्नु पर्ने बताईन् ।
मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठले घर, विद्यालय, कार्यालय तथा समुदायमा व्यक्तिहरुबीच एक अर्काको कुरा सुन्ने बानीको विकास गर्ने, मनका कुरा भन्नेको बातावरण तयार गर्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच हातमालो गरेरु अघि बढ्ने बताए ।
त्यसअघि स्वास्थ्य क्षेत्रसंग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अभियानमा सहयोग गर्ने प्रतिवद्धता सहितका धारणा व्यक्त गरेका थिए ।
विभिन्न अध्ययन्हरुका अनुसार नेपालमा १० जनामध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिन्छ। कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलिया, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मानसिक स्वास्थ्य शाखा प्रमुख पोमावती थापा, सूचना केन्द्रका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना लगायतले मानसिक स्वास्थ्यको अवस्था र सरकारले चालेका कदमबारे प्रस्तुति दिएका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

