बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तलाई यसवर्षको ‘कुलपति राष्ट्रिय नव-प्रवर्तन पुरस्कार’

काठमाडौँ, २१ मंसिर । बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले यसवर्षको ‘कुलपति राष्ट्रिय नव-प्रवर्तन पुरस्कार’ प्राप्त गरेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्नायु विज्ञान अन्तर्गत मस्तिष्क शल्यक्रियामा विशेषत: ‘फङ्सनल’ न्युरो सर्जरी, आधुनिक न्युरो चिकित्सा विज्ञान तथा नवप्रर्वद्धन उपचार प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. पन्तलाई सो पुरस्कार प्रदान गरेको हो ।
डा. पन्त माइतीघरस्थित अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत छन् ।
उनले प्राप्त गरेको पुरस्कारको राशी दुईलाख रुपैयाँ रहेको छ ।
शनिबार पुरस्कार पाएपछि बोल्दै डा. पन्तले पुरस्कारबाट प्राप्त रकम सामाजिक सेवामा खर्चिने बताएका छन् ।
त्यसअघि उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुरस्कृत गरेका थिए ।
शनिबार प्रतिष्ठानको ४३ औँ वार्षिकउत्सव समारोह थियो । बार्षिकोत्सवकै अवसर पारेर उक्त पुरस्कार प्रदान गरिएको हो ।
सो अवसरमा प्रतिष्ठानले डा. पन्तसहित अन्य व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरेको छ ।
त्यसरी पुरस्कृत हुनेहरुमा, चिकित्सा विज्ञानबाट बरिष्ठ रेडियोलोजिष्ट प्राडा सुनिल प्रधान पुरस्कृत भएका छन् । यस्तै विज्ञान तथा प्रविधि पुरस्कार प्राडा सुवोध शर्माले प्राप्त गरेका छन् । विज्ञान पुरस्कारबाट डा रमेशराज पन्तले प्राप्त गरेका छन् । यस्तै काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्राडा सुधन झाले प्रविधि पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिष्ठानले विज्ञान, प्रविधि क्षेत्रमा प्रशंसनीय काम गरेका २८ जना ब्यक्ति तथा संस्थाहरुलाई विभिन्न पुरस्कार, सम्मान र कदरपत्र प्रदान गरेको छ । यो वर्ष विभिन्न १३ वटा विधामा पुरस्कार प्रदान गरिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

