नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई व्यापारिक प्रचार–प्रसारमा नाम, फोटो नराख्न आग्रह

काठमाडौँ, १७ मंसिर । कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा आफ्नो नाम, फोटो, र शैक्षिक उपाधी (डिग्री) प्रयोग गर्न थालेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुलाई सतर्क गराएको छ ।
उसले चिकित्सकहरुलाई यसरी नाम फोटो र डिग्रीलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्नु व्यवसायिक आचारसंहिता विपरित भएको समेत बताएको छ ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि चिकित्सकलाई यस्ता कम्पनीको प्रचार गर्ने गरी बोर्ड, ब्यानर, पोस्टर, डिजिटल साइनबोर्ड वा ब्रान्डेड सामग्रीमा आफ्नो नाम–फोटो राख्न कानूनतः निषेध छ। यसले कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७ विपरित छ ।’
‘यस्तो कार्य जारी राखे कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७ को बुदाँ नं ९ मा उल्लेख भए बमोजिम सजाय हुने छ,’ विज्ञप्तीमा भनिएको छ ।
काउन्सिलले सबै चिकित्सकलाई आफ्नो व्यवसायिक मर्यादा, आचारसंहिता र दायित्वअनुसार व्यापारिक प्रवद्र्धनबाट टाढा रहन आग्रह गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



