क्षयरोग नियन्त्रणका लागि डब्लुएचओले बनाएको प्राविधिक सल्लाहकार समूहमा डा. राजेन्द्र पन्त नियुक्त
काठमाडौँ, १८ असार । क्षयरोग नियन्त्रणका लागि सल्लाह सुझाव दिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बनाएको दक्षिणपूर्वी एशिया क्षेत्रको प्राविधिक सल्लाहकार समूहमा नेपालबाट डा. राजेन्द्रप्रसाद पन्त नियुक्त भएका छन् ।
‘डब्लुएचओ साउथ ईष्ट एशिया रिजनल टेक्निकल एडभाइजरी ग्रुप अन ट्युवरक्लोसिस’ मा उनी दुई वर्षका लागि छनौट भएका हुन् । ‘जुलाई १ (हिजो) देखि नै लागू हुने गरी नियुक्ती पाएको छु । यो आगामी दुई वर्षसम्मका लागि हुनेछ,’ डा. पन्तले भने ।
दक्षिण पूर्वी एशिया क्षेत्रको क्षयरोग नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव दिन डब्लुएचओ क्षेत्रीय कार्यालयले प्राविधिक सल्लाहकार समूह गठन गरेको हो । यसमा यस क्षेत्रका ११ जना विज्ञहरु छनौट भएका छन् । यिनै सदस्यबाट अध्यक्ष र सह अध्यक्ष छनौट हुनेछ ।
‘खासगरी हामीले क्षयरोगको अवस्था, यसलाई नियन्त्रणका लागि बनाईने नीति, स्रोत व्यवस्थापन र पैरवीका लागि सुझाव दिने काम गर्नुपर्ने हुन्छ । त्यसमा पनि एमडीआर क्षयरोगमा बढी प्राथमिकता हुन्छ,’ उनले भने ।
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. पन्तले सरकारी सेवामा रहँदा लामो समय राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक भएर काम गरेका थिए ।
सम्पर्क इमेल : [email protected]