झापामा भेटिए आठजना कोरोना संक्रमित
काठमाडौँ, १७ असार । झापा जिल्लामा आठजना कोभिड सङ्क्रमित बिरामी भेटिएका छन् । तीमध्ये पाँचजना झापाका छन् भने मोरङ, इलाम र दोलखाका एक/एकजना रहेका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीका अनुसार झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ ।
‘काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,” उनले भने, “जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।’
त्यस्तै झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको बाराकोटीले जानकारी दिए ।
‘झापाका पालिकाहरूसँग समन्वय गरेर खोप वितरण गर्छौं,’ उनले भने, ‘अब नयाँ तालिकानुसार खोप कार्यक्रम अघि बढ्छ ।’
नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए।
यसैगरी, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ ।
सम्पर्क इमेल : [email protected]