आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ, १६ असार । तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएपछि उक्त सेवा विस्तार गरिएको हो ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी विशेषज्ञ डा राजकुमार शाहलाई नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

अस्पतालमा सेवा विस्तार गर्ने क्रममा हाडजोर्नीका बिरामीलाई सहज रूपमा पालिकामै सेवा दिने उद्देश्यसहित हाडजोर्नी चिकित्सकको व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चुमानले बताए ।

चुमानले भने, “पालिकास्तरीय अस्पतालमा नयाँनयाँ सेवा विस्तार गर्ने अभियानअन्तर्गत हाडजोर्नी तथा नशारोग विशेषज्ञलाई पालिकाकै आन्तरिक आम्दानीबाट तलब खुवाउने गरी अनुबन्ध गरेका छौँ । यसले आँबुखैरेनीका बासिन्दाले अब सहज रूपमा यससम्बन्धी सेवा पाउनेछन् ।”

हाडजोर्नी तथा नशारोगको उपचारका लागि चितवन, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनको भनाइ छ । उनले भने, “विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउँदा जनताको समय, पैसा र श्रमको बचत हुने विश्वास लिएका छौँ । यसले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै सुनिश्चित गर्ने अभियानलाई थप बल मिलेको छ ।”

अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले गाउँपालिकाले पूर्णकालिन रूपमा अनुबन्ध गरी हाडजोर्नी सेवा सुरु गरेको आँबुखैरेनी गण्डकी प्रदेशमै पहिलो अस्पताल रहेको दाबी गरे । यो सेवाले आँबुखैरेनीमात्र नभई छिमेकी पालिकाबाट वासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ ।

अस्पतालले विविध स्वास्थ्य सेवा विस्तार गर्दै लगेको छ । पछिल्लो पटक अस्पतालमा फिजियोथेरापी सेवा विस्तार गरिएको छ । फिजियोथेरापी सेवा सुरु भएसँगै यस भेगका जनतालाई सहज भएको छ ।

अस्पतालमा हाल दैनिक तीन सयभन्दा बढी बिरामीले सेवा लिइरहेको बताउँदै क्षेत्रीले इमर्जेन्सीमा ४०, ल्याबमा ५० भन्दा बढी बिरामी दैनिक रूपमा रहने जानकारी दिए ।

गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ ।

अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायतका सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *