स्वास्थ्य बीमा कार्यक्रममा प्रथम सेवा विन्दु अब सरकारी स्वास्थ्य संस्था मात्रै

काठमाडौँ, १६ असार । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका कतिपय निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई प्रथम सेवा विन्दुको काम गर्न समेत जिम्मेवारी तोकिएको थियो । तर, अब भने स्वास्थ्य बीमा बोर्डले निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुको रुपमा नतोक्ने निर्णय गरेको छ । यसको कार्यान्वयन आगामी १ साउन देखि हुने भनिएको छ ।

‘यसअघि कतिपय सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा विन्दु तोकिएर सेवा दिई रहेका थिए । तर अब ती संस्थाहरुलाई प्रथम सेवा विन्दुको जिम्मेवारीबाट हटाइएको छ । अब प्रथम सेवा विन्दु सरकारी नै हुनेछ,’ स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले बताए ।

स्वास्थ्य बीमा बोर्डबाट गत १० असारमा प्रमथ सेवा विन्दु रहेका सामुदायिक र निजी स्वास्थ्य संस्था (सबै)लाई पठाइएको परिपत्र सार्वजनिक भएपछि धेरैले अब स्वास्थ्य बीमा सेवाका लागि प्रथम सेवा बिन्दु नचाहिने भन्ने बुझेका छन् । तर त्यो बुझाई सत्य होईन ।

‘बोर्डले सामुदायिक र निजी स्वास्थ्य संस्थामा प्रथम विन्दु तोक्ने व्यवस्था हटाएको हो । अब सबैको प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था रहने छ,’ सूचना अधिकारी मल्लले स्पष्ट पारे ।

त्यसो त स्वास्थ्य बीमा ऐन २०७४ (दोस्रो संसोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली २०७५ को (प्रथम संसोधन) को नियम २ को खण्ड (छ)ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको छ । यसपटक सोही व्यवस्थाको कार्यान्व्यन गर्न खोजिएको हो ।

‘ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई कार्यकारी निर्देशक स्तरीय निर्णयबाट १ साउन देखि लागू गर्ने निर्णय भएको हो,’ मल्लले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *