आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

12
Shares

काठमाडौँ, १२ असार । जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् ।

दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिए। “पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ”, उनले भने ।

ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा क्षेत्रीले जानकारी दिए । उनका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोझिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ ।

अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यतिबेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भएपनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ ।

विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ ।

यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेर्सी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेन्टल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *