नर्सिङ प्रशिक्षक भुजेलको नियुक्ती नियमसंगत : अस्पताल प्रशासन
काठमाडौँ, ११ असार । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ प्रशिक्षक विष्णु भुजेलको नियुक्ती प्रक्रिया अस्पतालको नियम अनुसार नै भएको बताएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै उनको नियुक्ती प्रक्रिया अस्पतालको नियम अनुसार नै भएको उल्लेख गरेको छ ।
केही सञ्चार माध्यममा भुजेलको नियुक्तीको विषयलाई स्वास्थ्य सचिव डा विकास देवकोटाको समेत नाम जोडिएर आएपछि अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले सो विषयमा विज्ञप्ती जारी गरेका हुन् ।
उनीद्धारा जारी विज्ञप्तीमा अस्पतालको क्याम्पसले विषयसंग सम्वन्धित ४ जना प्रशिक्षकहरु मागेकोमा आवेदक मध्येबाट क्याम्पस व्यवस्थापन समितिले गठन गरेको अन्तर्वार्ता तथा माईक्रो टिचिङ समितिले १२ र १३ फागुनमा अन्तर्वार्ता र प्रस्तुतिकरण समेत लिएर गरेको सिफारिसको आधारमा उनको नियुक्ती भएको उल्लेख छ ।
डा अधिकारीले भनेका छन्, ‘पहिलो चरणमा हामीले साइक्र्याटिक हेल्थ नर्सिङ र कम्युनिटी नर्सिङ विषयको प्रशिक्षक नियुक्ती गरेका थियौँ पछि पेडियाट्रिक विषयमा पनि नर्सिङ प्रशिक्षक माग गरेपछि बरियताको तेस्रो नम्बर सूचीमा रहेकी भुजेललाई १ जेठ देखि करारमा नियुक्ती गरेका हौँ । प्रतिक्षा सूचीमा अझै एक जना बाँकी रहनु भएको छ, नर्सिङ क्याम्पसमा तत् विषयसंग सम्वन्धित प्रशिक्षक छनौट समितिले सिफारिस भएको मितिले छ महिना भित्र आवश्यक परेमा सोही लिष्टबाट पदपूर्ति गरिनेछ ।’
प्रसूतिगृह अस्पतालले विसं २०७३ साल देखि कुपण्डोलस्थित परोपकार नर्सिङ क्याम्पस सञ्चालन गरेको छ । सुरुका दिनमा प्रविणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन भएता पनि हाल उक्त कार्यक्रम स्थगित भई बीएमएस र बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन भईरहेको छ ।
कलेजले सो शैक्षिक कार्यक्रममा अध्यापन गराउन विभिन्न नर्सिङ विषयमा स्नातकोत्तर उत्तीर्ण नर्सिङ प्रशिक्षकहरुलाई करार सेवामा नियुक्त गरि अध्ययन् अध्यापन भई रहेको समेत उल्लेख गरेको छ ।
यसैबीच समाचारमा आफ्नो नाम आएपछि भुजेलले समेत नियुक्ती प्रक्रियाको विषयलाई लिएर अस्पताल प्रशासनसंग जानकारी मागेकी छन् । जवाफमा प्रशासनले नियमसंग नियुक्ती भएको भन्दै विचलित नभई आफ्नो नियमित काम कर्तव्यमा सम्लग्न हुन भनेको छ ।
सम्पर्क इमेल : [email protected]