‘सावित्री देवी स्मृती प्रतिष्ठानद्धारा स्वास्थ्य क्षेत्रमा योगदान चार व्यक्तिलाई सम्मान

काभ्रे, ५ असार । ‘सावित्री देवी स्मृती प्रतिष्ठान’ले समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। स्व सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन्।
बुधबार काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला र नगदसहित सबैलाई सम्मान गरेकी हुन् ।
त्यसरी सम्मान पाउनेहरुमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मनकुमारी लामा, अनिस्मा तामाङ्, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा रहेका छन् । उनीहरुमध्ये सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लामा र तामाङलाई १०-१० हजार रुपैयाँका दरले तथा अभियान्ता शर्मा र डा लामिछानेलाई २५ – २५ हजार नगद सहित सम्मान गरिएको हो ।
जेष्ठ नागरिकको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष कोईरालाले समाजमा लागुऔषधको समस्या बढिरहेको बताइन्। उनले अहिले डिक्सो, बार र क्लबमा अवाञ्छित गतिविधि भएकाले त्यहाँ निगरानी बढाउन ध्यान दिनलाई सरकारको ध्यानाकर्षण गराइन्।
१३ देखि १९ वर्षसम्मका बालबालिकाहरूमा यस्तो लत देखिएको र लागुऔषध बिक्री हुनु राम्रो कुरा नभएको तर्फ ध्यानाकर्षण गराइन्।
कार्यक्रममा डा।राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले प्रतिष्ठानले खेलेको भूमिकाको बारेमा मन्तव्य दिएका थिए।
प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
सो अवसरमा युवा अभियन्ता श्रेष्ठले २५ हजार नगद सहयोग गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिति रहेको थियो। यस्तै पनौती ११ का वडाध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपती, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष लगायतको समेत उपस्थिति रहेको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
