जनप्रतिनिधिको सक्रियता, राजनीतिक दलको समर्थन, व्यापारीको साथ

पाल्पा, ५ असार । नसर्ने रोगको प्रमुख कारक मानिने सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न पूर्वखोला गाउँपालिकाले आफनो छुट्टै कानून बनाएको छ ।
गत २६ पुसमा गाउँ सभाबाट पारित भएको सुर्तीजन्य पदार्थ ९नियमन तथा नियन्त्रण० सम्बन्धी ऐन २०८१ माघ १गते स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । त्यसपछि पालिका भित्र आफ्नै ऐन कार्यान्वयन गर्न बाटो खुलेको हो ।
त्यसो त गाउँ सभाबाट ऐन पारित भएपछि नै त्यहाँका कतिपय स्थानीय व्यापारीले सुर्तीजन्य पदार्थको बेचबिखन गर्न छोडिसकेका थिए । तर, बेचबिखनलाई निरन्तरता दिएका व्यापारीहरु पनि अब चाहि निरन्तरता नदिने मनस्थिति देखिएका छन् ।
कानूनको प्रभावकारी कार्यान्वयनका लागि पूर्वखोला गाउँपालिकाको सहयोगमा सञ्जीवनी हेल्थ मिडिया प्रालिले गरेको बहुपक्षीय अन्तरक्रिया कार्यक्रममा छ वटै स्थानीय व्यापारीहरु सुर्तीजन्य पदार्थको बेचविखन नगर्ने प्रतिवद्धता जनाएका छन् ।
‘कानून बनिसक्यो, अब कार्यान्वयनमा आईसक्यो, अब यो बेचबिखनका लागि अपनाउनु पर्ने अनेकन झन्झटमा हामी फस्न चाहदैनौँ । हामीले अब चुरोट तथा गुटखा, पराग जस्ता सुर्तीजन्य पदार्थहरु पसलमा राख्दैनौँ । अर्को कुरा हामी पनि त स्थानीय बासिन्दा नै हो, स्वस्थ समाज निर्माणका लागि हाम्रो पनि त भूमिका हुन्छ । हामी पनि समाजका लागि योगदान गर्न चाहन्छौँ,’ पूर्वखोला -५ वीरकोटका व्यापारी कृष्णप्रसाद श्रेष्ठले भने । उनीसंगै सोही वडाका व्यापार व्यवसाय संघका प्रमुख मननारायण श्रेष्ठले पनि चुरोट गुडखा जस्ता पदार्थहरु बिक्री बितरण नगर्न आफूहरु राजी भएको सुनाउँदै अन्यत्रबाट पनि यसलाई रोक लगाउनका लागि पहल गर्नु पर्ने सुझाव दिए । ‘हामीले त रोक्छौँ तर छिमेकबाट आईहाल्छ कि भन्ने डर छ यस तर्फ पनि पालिकाको ध्यान जाओस,’ उनले भने ।
यता वडा नं १ सिलुवाका व्यापारी ईन्द्र नारायण श्रैष्ठले भने अब देखि पसलमा सुर्तीृजन्य पदार्थ नल्याउने बताए । उनले भने, ‘मैले अघि भर्खरै घरमा फोन गरेर भनिदिई सकें कुनै पनि सुर्तीजन्य पदार्थ अब झार्न पाईदैन, नझार्नु भनेको छु ।’
यता वडा नं २ को जल्पा, वडा नं ४ को देविनगर र वडा नं ६ हेक्लाङका व्यापारीले पनि कानून कार्यान्वयन गराउने कुरामा आफूहरु एकजुट रहेको बताए ।
ब्यापारीहरुको कुरा सुन्दा पूर्वखोला सुर्तीजन्य पदार्थ मुक्त गाउँपालिका बन्ने दिशामा अघि बढेको जस्तो समेत देखिन्छ । तर यो परिस्थिति यति सजिलै निर्माण भएको भने होईन ।
पूर्वखोला गाउँपालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून निर्माण देखि कार्यान्वयन गर्न जनप्रतिनिधिको अग्रसरता छ भने मुुख्य राजनीतिक दलको समर्थन रहेको छ ।
यसैगरी स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, नागरिक अगुवासंगै अधिकांश आम सर्वसाधारण कानून कार्यान्वयनको पक्षमा देखिएका छन् । उनीहरुले गाउँपालिकालाई सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनु पर्नेमा समेत जोड दिन थालेका छन् ।

केही दिन अघि बीरकोटमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले भने, ‘सुर्तीजन्य पदार्थको प्रयोगका कारण नसर्ने रोगको प्रकोप बढ्यो । यसको नियन्त्रणका लागि हामीले छुट्टै कानून ल्याएका हौँ । अब यसको कार्यान्वयन गर्छौं । कार्यान्वयन गर्नुको उदेश्य पनि सुर्तीजन्य पदार्थको उपभोगमा कमी होस भनेर नै हो ।’
उनले सोही मेसोमा कानून कार्यान्वयन गर्ने एउटा प्रमुख सरोकारवाला पक्ष भनेको व्यापारी हो भन्दै साथ दिएर स्वस्थ समाज निर्माणमा सघाउन आग्रह गरे ।

गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं ४ देविनगरका वडाध्यक्ष मेहरसिंह थापाले पूर्वखोला गाउँपालिका स्वास्थ्यका धेरै कार्यक्रमहरु पहिलो पटक सुरुवात हुने पालिकाको रुपमा चिनिएको भन्दै सुर्ती नियन्त्रण सम्वन्धी कानून कार्यान्वयनमा पनि सफल भएर छाड्ने बताए । उनी मात्रै होईन वडा नं १ का वडा सदस्य समुन्द्रा भारती, वडा नं २ का वडाध्यक्ष निरबहादुर सारु, वडा नं ३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार पल्ली र वडा नं ६ का वडाध्यक्ष धनबहादुर घर्ती पनि आफ्ना वडाहरुमा सुर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न पालिकाले सुरु गरेको अभियानलाई दह्रोसंग साथ दिने पक्षमा देखिएका छन् ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ पनि कानून कार्यान्वयनमा स्पष्ट देखिन्छन् । केही दिन अघि वडा नं ६ हेकलाङमा भएको कार्यक्रममा उनले खुलेर कानून कार्यान्वयनको विषयमा समेत बताए । उनी भन्छन्, ‘कानून अरुका लागि नभई व्यक्ति स्वयंका लागि हो । अब थाहा पाईएन, वा जानकारी नै थिएन भनेर अब उलंघन गर्ने छुट कसैलाई छैन । पालिकाले अब निरन्तर अनुगमन गर्नेछ र उल्ंलंघन भएको पाईए ५० हजार सम्म जरिवाना गर्न सक्नेछ ।’

उनले गाउँपालिकाको यो प्रयासले सुर्तीजन्य पदार्थको प्रयोगमा केही न केही नियन्त्रण हुने विश्वास गरेका छन् ।
पालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले अहिले कडा रोगको समस्या दिनानुदिन बढदै गएको भन्दै सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी गतिविधि नगरे अवस्था भयावह हुँदै जाने दावी गरे । ‘अहिले नै गाउँपालिकामा क्यान्सर, मुटु, मिर्गौला लगायतको कडारोग लागेर मासिक ५ हजार निर्वाह खर्च लिने नागरिक ४८ जना पुगिसकेका छन् । यो संख्या बढ्दो क्रममा छ । तसर्थ गाउँमा यो कानून कडाईका साथ लागू हुने छ,’ उनले भने ।
ढकालले अहिले कानून कार्यान्वयनको चरण भए पनि सचेतना र संगै कानूनबारे लेखिएको होर्डिङ बोर्ड ठड्याउने काम भईरहेको भन्दै केही समय पछि टोली बनाएर अनुगमनमा निस्कने बताए ।
‘धेरै व्यापारी साथीहरुले सुर्तीजन्य पदार्थको बेचबिखन नगर्ने भन्नु भएको छ । गर्नेहरुका लागि कडा व्यवस्था छ । त्यसैले हाम्रो आग्रह यस्ता बस्तु नबेचिदिनुहोस भन्ने हो । हाम्रो माग सुनुवाई हुन्छ । पूर्वखोला स्वस्थ समाज निर्माणमा सफल हुनेछ भन्ने विश्वास छ,’ ढकालले भने ।

पूर्वखोलामा सुर्ती नियन्त्रण अभियानका लागि सहजीकरण गरिरहेका नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेले बहुपक्षीय सहभागीता र समन्वयले गर्दा कानून कार्यान्वयनमा सहजता आउने विश्वास व्यक्त गरे ।
ईलाका प्रहरी कार्यालयका प्रमुख रमेश बहादुर कुँवर बनाएको कानूनको कार्यान्वयन गर्नका लागि प्रहरीको सक्रियता रहने भन्दै तोकिएको मापदण्ड र व्यवस्थालाई ध्यान दिन र यसको प्रयोग नियन्त्रण गर्नका लागि सबैले साथ दिन आग्रह गरे ।
अभियानमा सहभागी कतिपयले भने अभियानसंगै कानून आईसकेपछि सुर्तीजन्य पदार्थको प्रयोग गर्न छाडेको बताएका थिए ।
पूर्वखोलामा गत बैशाखको पहिलो साता पालिकास्तरको बृहत बहुपक्षीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । सो क्रममा प्रमुख राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादीका नेताहरुले सुर्ती नियन्त्रण सम्वन्धी अभियानमा पार्टीको साथ सहयोग हुने प्रतिवद्धता जनाएका थिए ।
यसैबीच पालिकाले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताको अवस्था, यसका हानीबारे जानकारी लगायतका विषयमा समेत बेसलाइन सर्भे समेत गरिसकेको छ । एक्सन नेपालसंगको सहकार्यमा सो सर्भेक्षण सम्पन्न गरेको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



