बाल क्यान्सरबाट बाँचेका १४ किशोर किशोरीलाई एनसीसीएको छात्रबृत्ति

काठमाडौँ । नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए)ले ईन्टरनेशनल क्यान्सर सर्भाइभर दिवस (२०२५ जुन १) को अवसरमा बाल क्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीहरूलाई कुल ६ लाख नेपाली रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।

यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेन्ष्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वर्ल्ड चाइल्ड क्यान्सरको सहकार्यमा सुरु गरिएको हो।

यो कार्यक्रमले क्यान्सर बाट बाँच्न सफल बालबालिका, उनीहरूको परिवार, डाक्टरहरू, नर्सहरू र प्रमुख सरोकारवाला पक्षहरूलाई छात्रवृत्ति वितरणमा सहभागि हुने अवसर प्रदान गरेको थियो।

कार्यक्रममा क्यान्सर बाट बाँच्न सफल बालबालिकाहरुले आफ्नो साहस र आशाले भरिएका प्रेरणादायी कथाहरू सुनाएका थिए।

कार्यक्रमका प्रमुख वक्ता कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञ डा बिश्वनाथ अधिकारीले उपचारपछिको निरन्तर निगरानीको महत्वमा जोड दिँदै नियमित फलोअप क्यान्सरमुक्त भविष्यका लागि अनिवार्य रहेको बताए।

त्यस्तै, टुगेदर अगेन्ष्ट चाइल्डहुड क्यान्सरका अध्यक्ष बिशप जोशीले शिक्षा, बाल क्यान्सरबाट बाच्न सफल बालबालिकाहरूका लागि जीवन परिवर्तनकारी हुने र शिक्षाले उनीहरूलाई सशक्त बनाउनुका साथै समाजलाई क्यान्सरसँग जोडिएको कलंक हटाउन सहयोग पु¥याउने बताए।

कान्ति बाल अस्पतालको बाल क्यान्सर वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुलीले भावनात्मक साहसको कुरा गर्दै बालबालिकाको उपचारमा आमाबाबुको साहसिक भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताए। रमेश गुप्ता स्मृति प्रतिष्ठानका कार्यक्रम प्रमुख भावनाथ झाले दीर्घकालीन स्रोत र लगानीको आवश्यकता औल्याए ।

कार्यक्रममा छात्रवृत्ति प्राप्त सदिक्षा तामाङकी आमा हरिमाया तामाङले छोरीको क्यान्सर उपचारमा पाएको एनसीसीएको साथले हाम्रो जीवनमा धेरै परिवर्तन आयो भन्दै अब छात्रवृत्तिले अझै राहत दिएको भन्दै आभार व्यक्त गरिन् ।

वर्ल्ड चाइल्ड क्यान्सर नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीले क्यान्सरबाट बाँचेकाहरूको साहसको प्रशंसा गर्दै भने १४ बालबालिकालाई शैक्षिक छात्रवृत्तिद्वारा समर्थन गर्न पाउनु गौरवको कुरा रहेको बताए । उनले उपचारपछि पनि उनीहरूलाई स्वस्थ र खुसी जीवनतर्फ अघि बढाउन प्रतिबद्ध रहको बताए।

लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसनकी प्रवक्ता रोजिना मानन्धरका अनुसार सरकारी निकाय, स्वास्थ्य संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन बीचको बलियो सहकार्यमार्फत नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले नेपालको बाल क्यान्सर परिदृश्य परिवर्तन गर्न प्रतिबद्धता जनाएको हो त्यसैगरी एलायन्सले सबै सरोकारवालालाई आह्वान गर्दै क्यान्सरविरुद्धको यात्रामा कुनै पनि बालबालिका पछाडि नपरोस् भन्ने उद्देश्यमा एकजुट हुन आग्रह गरेको छ।

यो छात्रवृत्ति कार्यक्रम सन् २०२५ फेब्रुअरी १६ मा भएको एनसीसीएको औपचारिक उद्घघाटनपछिको प्रमुख पहल हो, जसले क्यान्सरबाट बाँचेका बालबलिकाहरूको दीर्घकालीन पुनःएकीकरण र पुनःस्थापनालाई सहयोग गर्नेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *