मिर्गौला प्रत्यारोपण पश्चात् सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति पेम्बालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्मान

शेर्पालाई प्रत्यारोपण सम्वन्धी प्रवर्द्धन दूत नियुक्त गर्नेछौं : स्वास्थ्य मन्त्री पौडेल
104
Shares

काठमाडौं १६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।

मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पछि सगरमाथा आरोहण गर्ने शेर्पा विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन गरे । सो क्रममा मन्त्री पौडेलले शेर्पालाई अंग प्रत्यारोपण सम्वन्धी प्रवर्द्धन दूत नियुक्त गर्ने समेत बताए ।

‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,ु मन्त्री पौडेलले भने, तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवर्द्धन दूतका रुपमा नियुक्त गर्नेछ ।’ मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास गरे ।

मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं, उनले भने, यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ ।

स्वास्थ्य मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरुको बीमाका लागि पहल गर्ने घोषणा समेत गरे ।

वैदेशिक रोजगारीबाट फर्किए लगत्तै मिगौला फेल भएको पत्ता लागेका शेर्पाले तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका थिए । उनलाई आफ्नै बुबाले मिर्गौला दान गरेका थिए ।

उनै शेर्पाले सन् २००२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन् ।

३२ वर्षीय शेर्पाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सुधारमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे । ‘उहाँले राम्रो काम गरिरहनुभएको छ,’ उनले भने ।

यता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण विज्ञ डा पुकार चन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपितहरू पनि अन्य व्यक्ति सरह नै स्वस्थ हुनसक्ने ‘पेम्बाले सगरमाथा आरोहणले पनि पुष्टि गरेको बताए ।

सगरमाथा चढ्ने बेलामा शेर्पाले आफूहरूसँग पनि परामर्श लिएको स्मरण गर्दै डा। श्रेष्ठले आफूहरूले पनि आरोहणका लागि सहर्ष हौसला दिएको बताए ।

‘प्रत्यारोपण गरेको करिब दुई वर्षमै ६११९ मिटर अग्लो लोबुचे चढ्नुभयो’, डा. श्रेष्ठले भने, ‘हामीसँग पनि सल्लाह लिन आउनुभएको थियो । हामीले तपाईँलाई केही हुँदैन । अरू सरह नै हुनुहुन्छ, चढ्न सक्नुहुन्छ भनेका थियौँ ।’

आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाए । ‘मैले मिर्गौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ,’ उनले भने, ‘आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरें ।’

उनले मिर्गौला रोग मन्द विष जस्तो वा भनौ सुक्ष्म हत्यारा जस्तो होईछ भन्दै आफू यस रोगबारेमा सचेतना फैलाउने कार्यमा समेत क्रियाशिल हुने बताए । ‘म वैदेशिक रोजगारको सिलसिलामा जापान थिएँ, आउने दिन प्लेन चडेपछि सासफेर्न असजिलो भएको थियो, यहाँ आएर परीक्षण गर्दा थाहा भयो मेरो त दुबै मिर्गौला फेल भईसकेछ । यो त मन्द विष जस्तो थाहै नपाई बिगार्ने रोग रै’छ’ उने भने ।

कार्यक्रममा मन्त्री पौडेलले आरोही शेर्पाका धर्मपत्नी, दाई भाउजुलाई समेत खादा लगाएर सम्मान गरेका थिए । आरोही पेम्बाले भने आफ्नो ज्यान बचाउन महत्वपूर्ण योगदान गरेका डा पुकारचन्द्र श्रेष्ठको सगरमाथा फहरयाएको तस्बीर उपहारको रुपमा हस्तान्तरण गरेका थिए ।

मन्त्रालयको कार्यक्रम पछि शेर्पालाई नगर परिक्रमा सहित भक्तपुर लगिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *