पूर्वी नेपालमा पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ गर्दै भक्तपुर क्यान्सर अस्पतालको टोली
पाँचथर, १० जेठ । पूर्वका चार पहाडी जिल्लामा पाठेघर तथा स्तन क्यान्सरको निशुल्क स्क्रिनिङ गर्ने योजना अन्तर्गत भक्तपुर क्यान्सर अस्पातलको टोलीले शुक्रबार पाँचथर सदरमुकाम फिदिममा शिविर मार्फत सेवा दिएको छ ।
बिहीबार इलामबाट क्यान्सर रोगको स्क्रिनिङको सप्ताह व्यापी कार्यक्रम शुरु टोली दोस्रो दिन फिदिम पुगेको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार बिहीबार इलाम अस्पतालमा शिविर सञ्चालन गरिएको थियो ।
इलाम नगरपालिका र क्यान्सर रिलिफ सोसाइटी इलामको सहकार्य तथा इलाम अस्पतालसँगको समन्वयमा भएको शिविरमा ४०० बढीको पाठेघर तथा स्तनको स्क्रिनिङ गरिएको थियो ।
यसमध्ये दुई सय जनाको नमूना परीक्षणका लागि लिइएको छ।
शुक्रबार भने टोलीले पाँचथरको फिदिममा शिविर सञ्चालन गरेको छ । जिल्ला अस्पतालमा फिदिममा सुरु भएको शिविर शनिबार (आज) सम्म चल्नेछ ।
फिदिम नगरपालिकाको सहयोग तथा फिदिम अस्पतालको समन्वयमा यो शिविरमा २ हजार बढीले स्क्रिनिङ तथा स्वास्थ्य जाँच गराउने अपेक्षा रहेको डा. चालिसे बताए ।
फिदिम पछि टोली आइतबार संखुवासभा जिल्लाको धर्मदेवीस्थित मुडे शनिश्चरेमा अर्को शिविर राख्न पुग्ने छ । त्यसपछि १३ जेठ मंगलबारका दिन शिविर धनकुटाको पाख्रीबासमा हुनेछ ।
शिबिरमा चिकित्सकको परामर्श सेवासंगै प्याप स्मेयर परीक्षण, लिक्विड बेस्ड साइटोलोजी, स्तन क्यान्सर स्क्रिनिङको लागि अल्ट्रासाउण्ड सेवा प्रदान उपलव्ध छ ।
अस्पतालका निर्देशक डा। चालिसेले भने ‘हामीले नमूना लिनै पर्नेहरुलाई स्याम्पलिङ गरेर लिन्छौ, कतिपयको अल्ट्रासाउन्डबाट पनि अन द स्पट स्क्रिनिङ हुन्छ, कतिपयको पाठेघरको मुखको पानी नै निकाल्छौं।’
यसरी स्क्रिनिङ गर्दा समस्या देखिएकाहरुलाई फलोअपमा राख्ने गरिएको डा. चालिसेले जानकारी दिए।
यस्तै सामान्य समस्या देखिएकाहरुलाई नजिकको अस्पतालमा चेकजाँच र आवश्यक परामर्शका लागि पठाइने तथा बढी समस्या पहिचान भएकाहरुलाई भक्तपुरस्थित अस्पतालमा नै बोलाइने उनको भनाइ छ।
भक्तपुर क्यान्सर अस्पतालले गत चैतमा सुदुरपश्चिम प्रदेशमा समेत पुगेर महिलाहरूको पाठेघर र स्तनको क्यान्सरको स्क्रिनिङ गरेको थियो।
गत बैशाखमा सो अस्पतालले सिन्धुलीमा क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । यसपटकको शिविरमा अस्पतालबाट विशेषज्ञ सहितको १८ जनाको टोली खटिएको डा. चालिसेले बताए ।
सम्पर्क इमेल : [email protected]