राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो सम्मेलन चितवनमा हुँदै, नेतृत्वमा अब को आउला ?
काठमाडौँ, ७ जेठ । नेकपा (एमाले) निकट मानिने चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ (एनडीएएन) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी ९ र १० जेठका दिन चितवनमा हुँदैछ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने सम्मेलनले यसपटक संगठनको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
एनडीएएन नेपालका महासचिव डा. छवि पन्थीका अनुसार पहिलो दिन उद्घाटन सत्र, विभिन्न विषयका कार्यपत्र प्रस्तुतिसंगै बेलुका बन्द सत्रको आयोजना गरि नयाँ नेतृत्व चयन हुनेछ ।
दोस्रो दिन जनताको बहुदलीय जनवाद, चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विषयमा डा सुरेश तिवारीको प्रस्तुति, एनडीएएलाई योगदान दिने चिकत्सिकहरुलाई सम्मान साथै नव निर्वाचित केन्द्रीय कमिटीलाई प्रमाणपत्र वितरणको कार्यक्रम हुने छ ।
सम्मेलनको उद्घाटन गर्न पहिलो दिन एमाले नेता कृष्णगोपाल श्रेष्ठ चितवन पुग्ने कार्यक्रम छ । नयाँ कार्यसमितिलाई प्रमाणपत्र दिन तथा संगठनका लागि दिशा निर्देशन गर्न पार्टीका महासचिव शंकर पोखरेल पुग्ने कार्यक्रम छ ।
विसं २०७२ सालमा स्थापित भएको संगठन हो एनडीएएन । यो संगठनको संस्थापक अध्यक्ष डा सन्तोष पौडेल हुन् । दोस्रो सम्मेलनबाट डा जागेश्वर गौतम अध्यक्षमा चुनिएका थिए ।
अब तेस्रो अध्यक्ष को बन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।
तीन वर्षे कार्यकाल रहने एनडीएएनमा यसअघि अबको अध्यक्ष बन्ने सम्भावित चार व्यक्ति भन्दै प्राडा गणेश गुरुङ, डा कृष्ण अधिकारी, प्राडा विकास गौचन र डा दीपेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर प्राडा गुरुङ र पाण्डे अध्यक्ष बन्ने चाहना नरहेको नेपाली हेल्थलाई बताएका छन् । डा अधिकारी र प्राडा गौचनले भने जिम्मेवारी पाएको खण्डमा संगठनको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
युवा चिकित्सक बाहुल्य संगठनमा अधिकांशले डा अधिकारीलाई सल्लाहकार राखेर डा गौचनलाई नेतृत्वमा लैजानु उपयुक्त हुने बताएका छन् । तर यसको अन्तिम टुंगो भने ९ जेठका दिन नै लाग्ने छ ।
महासचिव पदका लागि बर्तमान महासचिव डा छवि पन्थी, डा मिलन गैरे, डा सम्राट पराजुलीको नाम चर्चामा छ । अन्तिम टुंगो भने आगमी ९ जेठका दिन नै लाग्नेछ ।
अहिले ५०० बढी संगठित सदस्य रहेको एनडीएएनले यसपटकको सम्मेलनमा चिकित्सकको पेशागत सुरक्षा, बृत्तिविकास संगै बिरामीसंगको सम्वन्धलाई कसरी सकारात्मक बनाउने भन्ने विषयमा छलफल केन्द्रीत गर्ने योजना बनाएको छ ।
सम्पर्क इमेल : [email protected]