रक्तचापको उतार चढाव : कम खतरनाक हुन्छ कि बढी?

आजको व्यस्त जीवनशैली, असन्तुलित खानपान र बढ्दो मानसिक तनावका कारण मानिसहरूमा उच्च रक्तचाप (हाई ब्लड प्रेशर) र कम रक्तचाप (लो ब्लड प्रेशर) दुबै समस्या तीव्र रूपमा देखिन थालेका छन्।

सामान्य मानिसमा यस्तो बुझाइ रहँदै आएको छ कि रक्तचापको जुनसुकै विकृति — चाहे कम होस् या बढी — दुबै घातक हुन सक्छन्।

तर चिकित्सकीय दृष्टिकोणले हेर्दा यो पूर्णतः सत्य होइन।

यस लेखमा हामी बुझ्नेछौं कि कुन अवस्था बढी खतरनाक हो  । अर्को शब्दमा, रक्तचाप कम हुनु खतरनाक कि बढी अर्थात उच्च रक्तचाप देखिनु खतरनाक ?

रक्तचाप भनेको के हो ?

रक्तचाप (Blood Pressure) भन्नाले मुटुले शरीरभर रगत पम्प गर्दा रगतले रक्तनलीहरूमा दिने दबाबलाई जनाइन्छ। सामान्यतया स्वस्थ वयस्कको रक्तचाप 120/80 mmHg हुनुपर्छ।

जब यो सीमाभन्दा धेरै तल जान्छ, त्यो निम्न रक्तचाप (Low Blood Pressure) हो भने, धेरै माथि जान्छ भने उच्च रक्तचाप (High Blood Pressure) कहलिन्छ।

 

निम्न रक्तचाप – सधैं घातक हुँदैन

कम रक्तचाप भएका धेरै व्यक्तिहरूमा कुनै विशेष लक्षण देखिँदैन। उदाहरणस्वरूप, कसैको रक्तचाप 100/60 mmHg हुन्छ तर उसले कुनै कमजोरी, चक्कर, वा थकानको अनुभूति गर्दैन भने त्यो स्वास्थ्यका लागि चिन्ताजनक अवस्था मानिदैन।

चिकित्सकहरू भन्छन् – यदि शरीर आफ्ना कामहरू सहज रूपमा गर्न सकिरहेको छ भने अलि कम रक्तचाप हुनु समस्याको कारण होइन।

निम्न रक्तचापका सामान्य कारणहरू:

  • डिहाइड्रेसन (शरीरमा पानीको कमी)
  • थाइराइड रोग
  • मधुमेह
  • संक्रमण (इन्फेक्सन)
  • केही औषधिको असर

यदि यी अवस्थाहरूको निदान गरेर उपचार गरियो भने रक्तचाप पनि सामान्य अवस्थामा फर्कन सक्छ। विशेष गरी बुढ्यौलीमा केही व्यक्तिहरूको रक्तचाप स्वभाविक रूपमा थोरै कम हुन्छ, जसले दीर्घकालीन कुनै समस्या निम्त्याउँदैन।

कहिलेकाहीं कम रक्तचाप खतरनाक हुन सक्छ

जसबेला रक्तचाप अत्यधिक घट्छ (जस्तै 70/40 mmHg भन्दा कम), त्यो बेला मस्तिष्क, मुटु र अन्य अङ्गहरूमा पर्याप्त रगत र अक्सिजन पुग्न सक्दैन। त्यसका कारण निम्न लक्षणहरू देखिन सक्छन्:

  • चक्कर लाग्नु
  • बेहोस हुनु
  • छाती दुख्नु
  • सास फेर्न गाह्रो हुनु
  • दृष्टि धमिलो हुनु

यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ। यद्यपि, लामो समयसम्म स्थिर रूपमा कम रक्तचाप हुनेहरूमा हृदयाघात वा स्ट्रोकको सम्भावना उच्च रक्तचाप भएका व्यक्तिहरूको तुलनामा कम हुन्छ।

उच्च रक्तचाप – साइलन्ट किलर

उच्च रक्तचापलाई चिकित्सकहरूले “साइलन्ट किलर” अर्थात् मौन घातक रोगको संज्ञा दिएका छन्।

यसको कारण — सुरुवाती अवस्थामा यसले कुनै लक्षण नदेखाइकनै शरीरभित्र अङ्गहरूमा गम्भीर क्षति पुर्‍याउन सक्छ। जबसम्म गम्भीर समस्या (जस्तै स्ट्रोक, हार्ट अट्याक) उत्पन्न हुँदैन, धेरै मानिसहरूलाई उच्च रक्तचाप भएको पत्तै हुँदैन।

उच्च रक्तचापका जोखिमहरू:

हृदयघात (Heart Attack): उच्च दबाबका कारण मुटुमा रक्तसञ्चार अवरुद्ध भई हृदयघातको सम्भावना बढ्छ।

स्ट्रोक (Brain Stroke): मस्तिष्कको रक्तनली च्यातिन सक्ने सम्भावना हुन्छ।

मिर्गौला फेल: मिर्गौलामा रहेको सूक्ष्म रक्तनलीहरूमा क्षति पुग्न सक्छ।

नेत्र समस्याहरू: दृष्टि गुम्ने अवस्था आउन सक्छ।

किन हुन्छ उच्च रक्तचाप ?

  • अत्यधिक नुनको सेवन
  • मानसिक तनाव
  • धूम्रपान, मदिरा सेवन
  • मोटोपन
  • आनुवंशिक कारण
  • शारीरिक निष्क्रियता

 

उपचार र व्यवस्थापन

कम रक्तचापको लागि:

  • पर्याप्त पानी पिउने
  • नुनयुक्त तरल पदार्थ सेवन गर्ने
  • मधुरो मात्रामा क्याफीनयुक्त पेय पदार्थ
  • रक्तचाप घटाउने औषधि प्रयोग नगर्नु
  • अचानक उभिन नहुनु

उच्च रक्तचापको लागि:

  • नियमित व्यायाम
  • नुन र बोसोको सेवन कम गर्ने
  • तनाव कम गर्ने उपायहरू (जस्तै योग, ध्यान)
  • धूम्रपान तथा मदिरा सेवन बन्द गर्ने
  • डाक्टरको सल्लाह अनुसार औषधि सेवन

निष्कर्ष : कुन बढी खतरनाक ?

सामान्यतया लक्षणरहित कम रक्तचाप स्वास्थ्यका लागि खतरा होइन। तर उच्च रक्तचाप भने सधैं चिन्ताको विषय हुन्छ, किनभने यसले हृदय, मस्तिष्क, मृगौला जस्ता अति संवेदनशील अङ्गहरूमा दीर्घकालीन क्षति पुर्‍याउँछ।

रक्तचाप चाहे कम होस् या बढी, त्यसको नियमित निगरानी गर्नु, जीवनशैली सन्तुलित राख्नु र स्वास्थ्य परीक्षण गरिरहनु नै उत्तम उपाय हो।स्वस्थ जीवनशैली अपनाऔं, रक्तचाप नियन्त्रणमा राखौं।

(बालरोग विशेषज्ञ, डा सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसिएट प्रोफेसर हुन्)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *