रक्तचाप मापनमा त्रुटि: कारणहरू र यसको न्यूनीकरण
आज मे महिनाको १७ तारिख अर्थात विश्व उच्च रक्तचाप दिवस । यसवर्ष अर्थात ‘विश्व उच्च रक्तचाप दिवस – २०२५’ को नारा “आफ्नो रक्तचाप सही तरिकाले मापन गर्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समयसम्म बाँच्नुहोस्” भन्ने रहेको छ ।
यो नारा अघिल्लो वर्षदेखि नै लागू गरिएको हो, जसले राम्रो स्वास्थ्य र दीर्घायुको लागि सही रक्तचाप मापन र नियन्त्रणको महत्त्वलाई जोड दिन्छ।
पक्कै पनि, उच्च रक्तचापको प्रभावकारी निदान, रोकथाम र नियन्त्रणको लागि सही रक्तचाप मापन (blood pressure measurement) महत्वपूर्ण छ।
रक्तचापको मापन क्लिनिकल अभ्यासमा गरिने सबैभन्दा सामान्य परीक्षण हो। यद्यपि, विश्वभर धेरै दशकदेखि गरिएका प्रयासहरूको बावजुद गलत रक्तचाप मापन एउटा जनस्वास्थ्य समस्याको रुपमा रहि आएको छ।
स्वास्थ्यकर्मी, बिरामी स्वयं वा अरु कसैले रक्तचाप मापन गर्दा राम्ररी ध्यान दिइएन भने मापन (reading) मा त्रुटि हुन सक्छ, जसले गर्दा उच्च रक्तचापको निदानमा गलती हुन जान सक्छ। उदाहरणको लागि, यदि उच्च रक्तचाप भएको व्यक्तिलाई उच्च रक्तचाप नभएको गलत निदान गरिएको छ भने उसले उपयुक्त उपचार नपाउन सक्छ वा उसको उपचारमा ढिलाइ हुन सक्छ।
अर्कोतर्फ, यदि सामान्य (normal) रक्तचाप भएको व्यक्तिलाई उच्च रक्तचाप भएको भनी गलत निदान गरिएको छ भने उसले अनावश्यक चिन्ता र तनाव अनुभव गर्न सक्छ। यसबाहेक, उच्च रक्तचाप भएको व्यक्तिको गलत रक्तचाप मापनले रक्तचाप नियन्त्रणमा छ कि छैन भन्ने कुरामा पनि गलत निर्क्यौल हुन सक्छ।
रक्तचाप मापनमा त्रुटिहरूका कारणहरू:
रक्तचाप मापनमा त्रुटिहरू हुने मुख्य कारणहरुमा प्राय बिग्रेको रक्तचाप मापन उपकरणको प्रयोग, गलत मापन तरिका, र बिरामीसंग सम्बन्धी कारणहरु हुन सक्छन्।
उपकरण-सम्बन्धित समस्याहरूमा उपकरण राम्रोसँग क्यालिब्रेट नगरिएको हुनु अर्थात् उपकरण राम्रो अवस्थामा नराखिनु (maintain) प्रमुख कारण हो।
डिजिटल रक्तचाप उपकरणहरूमा राम्ररी नचल्ने ब्याट्रीको प्रयोग पनि त्रुटिको स्रोत हुन सक्छ।
त्यस्तै, गलत मापन तरिकाको कारणहरूमा गलत आकारको पट्टी अर्थात् कफ (cuff) प्रयोग गर्नु, कपडामाथि कफ राख्नु, मापन गर्नु अघि बिरामीलाई आराम नगराउनु, र बिरामीको हात मुटुको स्तर (level) मा नराख्नु, आदि पर्दछन्।
यसबाहेक,बिरामीको मनस्थिति, शारीरिक अवस्था, वा स्थिति (body position) जस्ता कारणहरूले पनि रक्तचाप मापनलाई असर गर्न सक्छ।
साथै, मापन लिने व्यक्ति आफ्नै विश्वास वा अपेक्षाहरूबाट पनि उसको रक्तचाप मापन प्रभावित हुन सक्छ। (जस्तै: २०-२१ बर्षकी महिलाको रक्तचाप नाप्दा पक्कै नर्मल हुनुपर्छ भन्ने पूर्वाग्रह हुनु।)
स्वास्थ्य संस्थाबाहेक स्वास्थ्य शिविर तथा स्वास्थ्य सर्वेक्षणका क्रममा पनि शिविर वा सडक छेउमा, घरदैलो वा विद्यालय आदिमा रक्तचाप मापन गरिने हुन्छ। स्वास्थ्य संस्थाकोको तुलनामा भवन बाहिर रक्तचाप मापन गर्दा अतिरिक्त त्रुटिका सम्भावना रहन्छ।
यसमा बाहिरी तापक्रम तथा मौसम (जस्तै: चिसोमा रक्तचाप बढी देखिने), आवाज तथा कोलाहल (नापन गर्दा राम्ररी नसुनिने), र ध्यान-अवरोधहरू (distractions) जस्ता वातावरणीय कारणहरु हुन सक्छन्।
साथै व्यक्तिको स्थिति (position) र गतिविधिले (activity) पनि रक्तचाप मापनमा असर पार्ने सम्भावना पनि बढी रहन्छ।
सुधारका लागि अपनाउन सकिने रणनीतिहरू:
राम्ररी सम्भार तथा आवश्यक मर्मत गरिएको उपकरण प्रयोग गर्नाले प्राविधिक त्रुटिहरू कम गर्न सकिन्छ। त्यसैगरी, उचित रक्तचाप मापन विधिहरूमा दोहोर्याएर प्रशिक्षण (refresher training) प्रदान गर्नाले गलत मापनहरू उल्लेखनीय रूपमा कम गर्न सकिन्छ।
त्यस्तै, स्वास्थ्य संस्थाहरुमा सही तरिकाले रक्तचाप मापन गर्ने सम्बन्धी बिधिपुस्तक (standard protocols) लागू गर्नाले पनि त्रुटिहरू कम गर्न मद्दत गर्न सक्छ।
साथै, रक्तचाप मापन अभ्यासहरूमा नियमित रूपमा अनुगमन र प्रतिक्रिया प्रदान गर्नाले सुधारको लागि क्षेत्रहरू पहिचान गर्न मद्दत गर्न सक्छ।
रक्तचाप मापन गर्दा ध्यान दिनु पर्ने कुराहरु:
सही रक्तचाप मापन गर्न निम्न उल्लेखित साधारण तर प्राय याद नगरिने बुँदाहरुमा ध्यान दिन आवश्यक छ:
१. मापन अघि ध्यान दिनु पर्ने कुराहरु:
• रक्तचाप जाँच गर्न शान्त र आरामदायी स्थान छनौट गर्नुपर्दछ।
• प्रमाणित र क्यालिब्रेट गरिएको रक्तचाप उपकरण प्रयोग गर्नुपर्दछ।
• कफ सही आकार (size) को छ भनी सुनिश्चित गर्नुपर्दछ।
• चिया र कफीमा पाइने क्याफिन, मदिरा र धूम्रपानले अस्थायी रूपमा रक्तचाप बढाउन सक्छन्। मापन गर्नुभन्दा ३० मिनेट अगाडि यी बस्तु सेवन गर्नाले रक्तचाप कृत्रिम रूपमा बढ्न सक्छ। यस कारणले यी पदार्थहरुको सेवनबारे सोध्न र सो बमोजिम केहि समय कुरेर मात्र रक्तचाप नाप्नु उचित हुन्छ।
• पिसाब थैली भरिएको भए रक्तचाप मापनमा असर पर्न सक्छ। मापन गर्नुअघि बिरामीले आफ्नो पिसाब थैली खाली गरेको सुनिश्चित गर्नुपर्दछ।
२. स्थिति, आसन र गतिविधि:
• मापन गर्दा हात मुटुको तहमा (level) मा राख्नुपर्छ र सम्भव भए हातलाई टेबलमा टेको दिनु पर्छ। यदि हात मुटुको तहभन्दा माथि वा तल छ भने यसले मापनलाई असर गर्न सक्छ। यदि नापिने हात मुटुको तहभन्दा तल छ वा हातलाई टेबलमा टेको दिइएको छैन भने, रक्तचाप वास्तवमा भन्दा बढी देखिन सक्छ। यदि हात धेरै माथि छ भने गुरुत्वाकर्षणले रक्तचापलाई गलत रूपमा कम गर्न सक्छ।
• सुत्ने भन्दा बस्दा वा उभिएर पनि रक्तचाप मापनमा असर पर्न सक्छ। बिरामी भएर पल्टिनु पर्ने अवस्था बाहेक अरु बेला बसेको अवस्थामा नै रक्तचाप मापन गरिन्छ। यदि बिरामी मापन गर्नुभन्दा धेरै समय अगाडिदेखि नै सुतेको वा बसिरहेको छ भने, हातखुट्टामा रगत जम्मा हुन सक्छ, जसले गर्दा रक्तचाप कम हुन सक्छ।
• व्यायाम वा अन्य शारीरिक गतिविधिले रक्तचाप अस्थायी रूपमा बढाउन सक्छ, त्यसैले नाप्नु अघि आरामको समय दिनु महत्त्वपूर्ण छ।
• उपरखुट्टी वा एउटा खुट्टा माथि अर्को खुट्टा राखेको अवस्थामा रक्तचाप मापन गरियो भने यसले रक्तचाप २-८ अंकले बढाउन सक्छ। तसर्थ, रक्तचाप नाप्दा खुट्टाको स्थिति पनि याद गर्नु पर्दछ।
• रक्तचाप मापन गर्दा बिरामीहरूले बोल्नु हुँदैन र साथै सक्रिय रूपमा सुन्नु (active listening) पनि हुँदैन किनकि यसले मापन १० अंकले बढाउन सक्छ। सही मापन सुनिश्चित गर्न बिरामीहरू स्थिर र मौन बस्नुपर्छ।
• चिन्ता वा तनावले अस्थायी रूपमा रक्तचाप बढाउन सक्छ। तसर्थ, बिरामी वा व्यक्तिको मनस्थिति बुझ्नु र सो अनुसारको परामर्श आवश्यक हुन सक्छ।
३. उपकरण र तरिका:
• धेरै सानो वा धेरै ठूलो हातमा बाँधिने पट्टी (cuff)ले पनि गलत मापन गर्न सक्छ। कफलाई हातमा सही तरिकाले राख्नु पर्छ। कफलाई हातमा धेरै तल राख्नाले वा यसलाई राम्रोसँग नबान्ध्नाले गलत मापन हुन सक्छ।
• कफबाट धेरै छिटो वा धेरै ढिलो हावा फुस्काउन्दा (deflation) पनि मापनलाई असर गर्न सक्छ।
निष्कर्षमा, सही र समयमै निर्णय लिनको लागि रक्तचाप मापन महत्त्वपूर्ण छ। यद्यपि, सामान्य गल्तीहरूले रक्तचापको विश्वसनीयतालाई कमजोर बनाउन सक्छ र बिरामीको हेरचाह र सुरक्षालाई जोखिममा पार्न सक्छ। तसर्थ, माथि उल्लेखित बुँदाहरू, जस्तै सही कफ साइज र सही स्थानमा बाँध्ने, बिरामीको उचित तयारी गर्ने र उचित तरिकाले बसाउने र मापनको क्रममा बिरामीलाई कुरा गर्नबाट बर्जित गर्नाले रक्तचाप मापनको सहीपना र विश्वसनीयतामा सुधार गर्न सकिन्छ।
#प्राडा बैद्य नेपाल एनसीडी अलायन्सका उपाध्यक्ष हुन् ।
सम्पर्क इमेल : [email protected]