आवासीय चिकित्सकसंग भएको समझदारी कार्यान्वयनका लागि कार्यदल गठन
काठमाडौँ, २९ बैशाख । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको छ । आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गठन गरेको हो ।
यसअघि गत वैशाख २० गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयले आवासीय चिकित्सकसंग उनीहरुको सेवा सुविधा तय गर्नका लागि कार्यदल गठन गर्ने समझदारी गरेको थियो ।
सोही अनुसार सुझाव दिनका लागि भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा कार्य दल गठन गरेका हुन् ।
गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा , यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् ।
यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर डा. लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन् ।
कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ ।
यसैगरी, यससम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न कार्य दललाई कार्यादेश दिइएको छ ।
कार्यदललाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको छ ।
सम्पर्क इमेल : [email protected]