दोहोरी गीतमार्फत क्यान्सर सम्बन्धी सचेतना

कलाकारलाई दिएका थिए डा. शाहीले प्रशिक्षण
64
Shares

काठमाडौँ, १४ माघ । क्यान्सर सम्बन्धी सचेतना फैलाउने उद्देश्यले तयार पारिएको लोक तथा दोहोरी गीत सार्वजिनक गरिएको छ। महिलाका निम्ति महिला मञ्च नेपालले विभिन्न सचेतनामूलक गीत सार्वजनिक गर्ने क्रममा यसपल्ट क्यान्सरमा केन्द्रीत भएको हो।

उक्त भाग छायांकन गर्नु अघि पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीले स्टुडियोमै पुगेर कलाकारहरुलाई क्यान्सर बारे जानकारी दिएका थिए। सो क्रममा उनले कलाकारहरुको काममा ऐकेवद्धता समेत जनाएका थिए । डा शाहीले क्यान्सरबारे जानकारी दिएपछि सोही आधारमा तत्काललै कलाकारहरुले क्यान्सर सचेतना गीत तयारी पारेर गाएका थिए ।

डा शाहीले क्यान्सरबारे जानकारी दिने क्रममा जीवनशैली मर्यादित, अनुशासित र खानपान स्वस्थ भएमा ९० प्रतिशत क्यान्सरबाट जोगिन सक्ने बताए। केही क्यान्सर वंशाणुगत हुने बताउँदै नियमित चेकजाँचले त्यसबाट पनि जोगिन सकिने बताए।

श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर मञ्चले १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गराएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर) का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालको अगुवाइमा गीत रेकर्ड गरिएको हो।

मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषण रहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न संगीतलाई माध्यम बनाइएको संस्थापक अध्यक्ष तथा संस्थाकी निर्देशक सिर्जना पुनमगरले बताइन्। ‘श्रमिकको मान्यता र पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि हामीले संगीतलाई माध्यम बनाएका हौं,’ उनले भनिन्। सचेतनामूलक १०० गीतको योजना, व्यवस्थापन र समन्वय डिबी खड्का, सविता पोखरेल र वर्षा लुईंलेटले गरेका हुन्।

उक्त अभियानमा संस्थाकै सांस्कृतिक समूहमा रहेका र अन्य गरी २५ भन्दा बढी गायक गायिकाको संलग्नता रहेको थियो। अभियान अन्तर्गत रेकर्ड भएका गितमा नियमित कलाकारका रुपमा रेवती पौडेल, तारा थापा, देवी आले, रोमु भुजेल, मिना बुढाथोकी, रत्न श्रेष्ठ, शर्मिला विसी, टेकराज भण्डारी, धिरज कोईराला, यशोदा केसी, अञ्जान कार्की, टंक रेउले, दिलु बिसी, देवी कुमारी बस्नेत, सागर बिसी, सिमा थापा, शान्ति घर्ती, रमिला बुढामगर, श्याम राना, रेजिना परियार, रन्जिता विक, राममाया थापा, टिका पुन लगायतको स्वर रहेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *