अब आवश्यक सेवामा हडताल गर्न नपाइने

280
Shares

काठमाडौँ, १७ पुस । अब आवश्यक सेवामा हडताल गर्न नपाइने भएको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद्को आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको छ ।

बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय भएको हो । ‘आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

आवश्यक सेवाअन्तर्गत के-के पर्छन् भन्ने उल्लेख गरिएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार राजपत्रमा नै ती सेवाहरू तोकिने बताए । ‘यो नियमित निर्णय हो । यो सूचना पत्येक ६-६ महिनामा जारी हुने गरेको छ,’ उनले भने, ‘नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका सेवाहरू भन्ने ऐनको व्यवस्था छ । ऐनको व्यवस्थाबमोजिम निर्णय गरिएको हो ।’

यसअघि सरकारले विभिन्न २५ वटा सेवा क्षेत्रलाई आवश्यक सेवाको रुपमा परिभाषित गर्दै हडतालका लागि निषेध गरेको थियो । त्यसबेला डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइ अड्डा तथा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन, मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख थियो ।

यस्तै हवाइ ग्राउन्डेड, रेल्वे स्टेशन, सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवामासमेत हड्ताल गर्न निषेध थियो ।

यस्तै, सरकारले हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै पनि सेवामा अवरोध गर्न पाइने छैन भनिएको थियो ।

त्यस्तै, सञ्चार, आन्तरिक सुरक्षाकार्यसँग सम्बन्धित, खानेपानी सञ्चालन तथा वितरण, पर्यटक आवास, मोटेल, होटेल रेष्टुराँ, रिसोर्ट सेवामा पनि अवरोध गर्न नपाइने सूचनामा भनिएको थियो ।

यसैगरी पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा समेत हड्ताल गर्न रोक लगाएको थियो ।

यस्तै, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स जस्ता सेवा) औषधि निर्माण बिक्रीवितरण, फोहरमैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, सङ्कलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंक, बीमा, विद्युत् सेवा दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामा समेत हड्ताल गर्न नपाइने उल्लेख थियो ।

यसैगरी मौसम र बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीका साथै मास्क, ह्याण्ड सेनिटाइजर, भेटेरिनरी, इन्टरनेट, राहदानी विभागबाट प्रदान हुने र कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवामासमेत हड्ताल गर्न निषेध गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *