वर्षमा पाँच पटक लाइसेन्स परीक्षा लिँदै नेपाल स्वास्थ्य व्यवसायी परिषद्

काठमाडौँ, १७ पुस । नेपाल स्वास्थ्य व्यवसायी परिषदले वर्षमा पाँच पटक नाम दर्ता (लाइसेन्स) परीक्षा लिन थालेको छ । परीक्षार्थीको चाप बढ्दै गएपछि चालु आर्थिक वर्ष २०८१/०८२ देखि बार्षिक रुपमा पाँचपटक लाइसेन्स परीक्षा लिन थालेको हो ।
परिषद्का रजिष्ट्रार लिलानाथ भण्डारीका अनुसार चालु आर्थिक वर्षमा पहिलो परीक्षा असोजको पहिलो साता र दोस्रो परीक्षा मंसिरको तेस्रो साता सम्पन्न भइसकेको छ । यस्तै परिषद्ले अब तेस्रो परीक्षा फागुनको पहिलो साता, चौथो परीक्षा बैशाखको तेस्रो साता र पाँचौँ परीक्षा असारको अन्तिम साता गर्दैछ ।
‘हामीले दुईवटा कुरालाई मुख्य ध्यान दिएर वर्षमा पाँच परीक्षा लिन सुरु गरेका हौँ,’ परिषद्का रजिष्ट्रार भण्डारीले भने, ‘पहिलो कारण परीक्षार्थीको संख्या धेरै हुन थाल्यो दोस्रो परीक्षार्थीहरु छिटो पास भएर अन्य अवसरमा अघि बढन सकुन भन्ने हो ।’
हुन पनि अहिले चिकित्सा शिक्षा आयोगले परिषद् अन्तर्गतका विषय उत्तीर्ण गरेकाहरुले थप अध्ययन् गर्न चाहेमा लाइसेन्स अनिवार्य गरेको छ । यस्तै स्थानीय तहमा पनि परिषद् अन्तर्गतका जनशक्तिलाई रोजगारीको अवसर छ ।
रजिष्ट्रार भण्डारीका अनुसार अहिले परिषदबाट पीसीएल देखि एमफिल तहसम्मका विभिन्न ४० बढी विषयका परीक्षार्थीहरुले लाइसेन्स लिदै आएका छन् ।
परिषद्ले १ असोज २०७८ देखि नाम दर्ता परीक्षा सञ्चालन गर्न थालेको हो । सुरु देखि गत आर्थिक वर्षसम्म बार्षिक ३ पटकका दरले परीक्षा लिदै आएको थियो ।
गत मंसिरको तेस्रो साता भएको चालु आर्थिक वर्षको दोस्रो परीक्षा सम्पन्न हुँदा परिषद्को भने एघारौँ नाम दर्ता परीक्षा सम्पन्न भएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



