यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मानसिक स्वास्थ्यबारे बृहत छलफल सम्पन्न

काठमाडौँ, ११ पुस । नेपाल हेल्थ फेसिलिटी सर्भेका अनुसार नेपालमा मानसिक स्वास्थ्यसेवा पाउनु पर्ने १० मध्ये ८ जनाले सेवा पाएका छैनन् । सोही सर्भेले २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य समस्याको उपचार हुने व्यवस्था रहेको उल्लेख गरेको छ ।
नेपालको मानसिक स्वास्थ्य समस्याकै कुरा गर्दा अहिले अस्पतालमा जानेमध्ये ३० प्रतिशत जति व्यक्ति कुनै न कुनै रुपको मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको पाइन्छ । दैनिक रुपमा २० जना बढीले आत्महत्या गर्नेमा ८५ प्रतिशत मानसिक समस्याका कारण हुने गरेको पाइएको छ ।
आम सर्वसाधारणको अवस्था यस्तो हुँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानसिक स्वास्थ्य अवस्था कस्तो होला ? निलहिरा समाजले आज यसै विषयमा बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानसिक स्वास्थ्य अवस्थाका बारेमा नेपाल र भुटानमा गरिएको सर्वेक्षण प्रतिवेदन, समस्यामा यी समुदायका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा हुने समस्या लगायतका विषयमा प्रमुख सरोकारवाला पक्षबीच छलफल गरिएको हो ।
कार्यक्रममा निलहिरा समाजका तर्फबाट कनक र यस्तै भुटानबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेर आएका टेन्जिङ ग्याल्जेन नेतृत्वको टोलीले सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो ।
सर्वेक्षणमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका कुल ३८९ जना सहभागी थिए । ती मध्ये ३५ प्रतिशतमा एन्जाइटी र ३३.४ प्रतिशतमा डिप्रेसन भएको पाइएको थियो । यस्तै ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भएको पाइएको थियो । यस्तो समस्या बढी जसो लैगिंक पहिचान, यौन व्यवहार, स्थायी वसोबास, अपांगता, आफ्नो र आमाको शिक्षामा हुने कमि जस्ता कारणले भएको उल्लेख छ ।

कार्यक्रममा सांसदद्धय लक्ष्मी ढकाल र सीता राना मगरले यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायको मानसिक स्वास्थ्यको विषयमा राज्यले विशेष ध्यान पुरयाउनुपर्ने भन्दै यसका लागि आफूहरुले संसदबाट आवाज उठाउने बताए ।
यस्तै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा पोमावती थापाले सरकारले मानसिक स्वास्थ्यका लागि गर्दै आएको काम र अब गर्ने योजनामा रहेका कामका विषयमा बताएकी थिईन । उनले क्वेर समुदायका लागि थप ध्यान दिनु पर्ने आवश्यकता रहेको औल्याइन ।
सेभ द चिल्ड्रेनका तर्फबाट आयुष जोशीले मानसिक स्वास्थ्य समस्याको अवस्था चित्रित गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका व्यक्तिहरुलाई घर देखि स्वास्थ्य संस्थासम्म पाउने दुख, स्कुल देखि समुदायसम्म पाएका अफ्टेराबारेमा मिहिन ढंगले सोचेर नीति बनाउनु पर्ने बताए ।

कार्यक्रममा निलहिरा समाजकी कार्यक्रम निर्देशक मनिसा ढकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका व्यक्तिहरुका लागि राज्यले विशेष ध्यान दिएर नीति बनाउनुपर्ने र हेर्ने नजरिया बदल्नु पर्ने बताईन ।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालबाट डा सगुन वल्लभ पन्त, पराक्रम जवरा, क्वेर समुदायका अभियन्ता संंकेत बस्याल लगायतले क्वेर समुदायको मानसिक स्वास्थ्य समस्या र अव गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



