टेकु अस्पतालमा सरुवा रोगका बिरामीको चाप

104
Shares

काठमाडौँ, ७ असोज । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको जनाए ।

उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् ।

अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताए । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् ।

भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन ।

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् ।

समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा बसौलाले बताए । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा सञ्चालनमा रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *