स्वास्थ्यमा सरुवा : महानिर्देशक देखि अस्पताल प्रमुखसम्म फेरिए

काठमाडौँ, ६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरु फेरिएका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले लामो समयको तयारी पछि आइतबार स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटालाई जिम्मेवारी दिइएको छ । यसअघि महानिर्देशक रहेकी डा संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ।
यस्तै, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा डा सरोज शर्मालाई ल्याइएको छ । उनी वीर अस्पतालमा थिए । यसअघि सो महाशाखाको प्रमुख रहेका डा मदन उपाध्यायलाई वीर अस्पताल पठाइएको छ।
यसैगरी मन्त्री पौडेलले मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा भीमप्रसाद सापकोटालाई जिम्मेवारी दिएका छन् । त्यहाँका महाशाखा प्रमुख डा चुमनलाल दासलाई नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।
उता विभागमा व्यवस्थापन महाशाखा प्रमुखमा डा पवनजंग रायमाझीलाई पठाइएको छ । महाशाखामा रहेका डा श्रवण थापालाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ।
यस्तै भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा निराजन सुवेदीलाई जिम्मेवारी दिइएको छ।
यसैगरी टेकुस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन्। केन्द्रका निर्देशक डा अनुज भट्टचनको सार्क टिबी सेन्टरमा निर्देशकको रुपमा सरुवा भएको छ। सार्क टिबी सेन्टरमा रहेकी डा मनिषा रावललाई केन्द्रिय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ। त्यहाँ निर्देशक रहेका डा प्रकाश बुढाथोकीलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।
यस्तै विभागको उपचारात्मक महाशाखामा डा सुधा देवकोटाले जिम्मेवारी पाएकी छिन् । महाशाखाका डा अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरूवा गरिएको छ।
यसैगरी, कोशी अस्पतालको प्रमुख मेसुमा डा रूना झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

