सांसद डा. चन्दले गरे सिकलसेल रोगबारे विशेषज्ञ चिकित्सकहरुसँग छलफल

काठमाडौँ, १८ चैत । कैलाली क्षेत्र नं ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्दले थारु समुदायमा बढी देखिने सिकलसेल, थालिसिमिया जस्ता रगत सम्वन्धि रोगहरुको रोकथाम र उपचारका विषयमा विशेषज्ञ चिकित्सकहरुसँग छलफल गरेका छन् ।
यसअघि उनले मंगलबार प्रधानमन्त्री बालेन शाहसँगको भेटमा समेत यी रोगको रोकथाम तथा उपचारबारेमा ध्यानाकर्षण गराएका थिए ।
सांसद डा चन्द, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेताद्धय लक्ष्मण थारु र प्रकाश बिष्ट सहितको टोलीले नेपालकै पहिलो बंशाणु तथा अनुवांशिक रोग विशेषज्ञ डा निलम ठाकुर, रगत रोग विशेषज्ञ डा नीरज सिंह लगायत विशेषज्ञ डाक्टरसंग छलफल गरेका हुन् ।
कैलाली क्षेत्र नं ५ मा थारु समुदायको ठूलो जनसंख्या बसोबास गर्दछ । उनीहरुमा सिकलसेल तथा थालिसिमिया जस्ता रगत सम्वन्धी रोगहरु बढी देखिएको छ । चुनावी अभियानमा डा चन्दले यसको रोकथाम तथा उपचारलाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए । सोही अनुसार उनले विशेषज्ञ चिकित्सकहरुसंग छलफल गरेका हुन् ।
छलफलमा चिकित्सकद्धयले रोगबारे जानकारी साथै सरकारको अहिलेको नीति र अब गर्नु पर्ने कामबारे बताएका थिए । डा ठाकुरले थारु समुदाय बाहेक अन्य समुदायमा पनि विस्तारै यो रोग देखिन थालेको भन्दै यसको न्युनिकरणका लागि गर्न पर्ने उपायबारे बताएकी थिईन ।
डा सिंहले सिकलसेल तथा थालिसिमिया रोगको उपचार तथा रोकथाममा आफूले विगतमा गरेको कामको अनुभव तथा अबका दिनमा गर्न पर्ने काम बारेमा बताएका थिए ।
डा चन्दले भने आफनो क्षेत्रका नागरिकहरुमा सिकलसेलको जोखिम तथा समस्या बढेको भन्दै त्यसको न्युनिकरण तथा रोकथामका लागि प्रयास सुरु गरिएको बताए ।
उनले कैलालीको थारु बाहुल क्षेत्रमा मास स्क्रिनिङ तथा रोकथामका अन्य उपायहरु अघि बढाउने बताए । उनले उपचारका लागि सहज व्यवस्थानका लागि राज्यको ध्यानाकर्षण गराईसकेको भन्दै त्यसका लागि अरु प्राविधिक पक्षका समेत छलफल भएको बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 