गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया ‘फास्ट-ट्रयाक’मा अघि बढ्यो

84
Shares

काठमाडौं, १७ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रिया छिटो टुङ्गिने बताएका छन् । मंगलबार सुदूरपश्चिमका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सुदूरपश्चिमका अन्य विषयका अलावा लामो समय देखि अलमलमा परेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि यसपटक रणनीतिक योजनामा राखेर बजेट विनियोजन गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा सुदूरपश्चिमका सांसदहरुको तर्फबाट कैलाली क्षेत्र नं ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रणनीतिक महत्वको रहेको रहेको बताउँदै सञ्चालनमा आएका बखत विश्वविद्यालयले त्यस क्षेत्रको स्वास्थ्य सेवा पहुँच विस्तार, दक्ष जनशक्ति उत्पादन, वैदेशिक पलायन न्यूनिकरण, र क्षेत्रीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सहितको योजना प्रस्तुत गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले तत्काल यो कार्य कार्यान्वयनमा जाने बताएका थिए ।

‘सम्माननीय प्रधानमन्त्री ज्यू, हाम्रो प्रस्तुति पछि एकदमै सकारात्मक हुनु भयो । त्यस लगत्तै उहाँले फास्टट्याकमा काम गर्दै अर्थ तथा कानूनबाट आवश्यक राय समेत लिने व्यवस्थाका लागि सहजीकरण गरिसक्नु भएको अवस्था छ । उपकुलपति ज्यूले अहिले त्यसका लागि आवश्यक प्रक्रिया अगाडी बढाउँदै हुनुहुन्छ,’ सांसद डा. चन्दले भने ।

उनले यसअघि सुदूरपश्चिम यसअघि विकासमा पछि परेको र चिकित्सा शिक्षा अध्ययन र अध्यापन नहुने एकमात्र प्रदेश बनेको उल्लेख गर्दै उक्त विश्वविद्यालय सञ्चालनमा जोड दिदै आएका थिए ।

उनको नीति प्रस्तावमा चारवटालाई प्राथमिक लगानी क्षेत्रहरू बनाएर बजेट विनियोजन गर्नुपर्ने उल्लेख छ।

पहिलो, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय रु. २ अर्ब ५८ करोड, दोस्रो विकास संस्था रु १० करोड, तेस्रो फाप्ला क्रिकेट मैदान रु. ४ अर्ब र पाँचौंमा सिकलसेल परीक्षण कार्यक्रम रु. २ करोड माग गरिएको छ।
यस्तो छ डा. चन्दले प्रस्तुत गरेको विवरण:

नीति प्रस्ताव दस्तावेज
प्रस्तुतकर्ता: आनन्द बहादुर चन्द, पीएचडी
प्रतिनिधि सभा सदस्य, कैलाली– ५
इमेल: [email protected]
सम्माननीय प्रधानमन्त्री,
नेपाल सरकार
विषय: सुदूरपश्चिम प्रदेशका लागि रणनीतिक लगानी प्रस्ताव
पृष्ठभूमि : कुल क्षेत्रफलको लगभग १३.५५% हिस्सा ओगटेको सुदूरपश्चिम नेपालको छैटौं ठूलो प्रदेश हो । यस प्रदेशमा ७,९३२.८३४ वर्ग किलोमिटर (४०.६०%) उच्च पहाडी इलाका, ६,७४८.७७०६ वर्ग किलोमिटर ( ३४.५४%) पहाडी इलाका र ४,८५७३९५४ वर्ग किलोमिटर (२४.८६%) तराई क्षेत्र छन् ।
नेपालको कुल जनसङ्ख्यामा प्रदेशको हिस्सा ९.१% छ भने जनघनत्व १३७९ व्यक्ति प्रतिवर्ग किलोमिटर छ । यसका अतिरिक्त १,७२, ११५ घरपरिवार (२९.८%) बाट कुल ३,४३,५२३ जना विदेशमा बस्छन् । प्रदेशको वर्तमान कुल राष्ट्रिय आय करीब २.६० अर्ब अमेरिकी डलर छ र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,१५३ अमेरिकी डलर हो, जुन आ.व.२०२३/२४मा मधेस प्रदेश र कर्णाली प्रदेश पछि तेस्रो न्युनतम हो ।
बितेको आधा दशकमा सुदूरपश्चिम प्रदेशमा औसत जीडीपी वृद्धि ४.०% थियो । आर्थिक बर्ष २०८१।८२ मा सुदुरपश्चिमको अर्थतन्त्र ३.३२ प्रतिशतले वृद्धि भयो । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ३३% कृषि, १२.४५% उद्योग र ५५.५५% सेवाको हिस्सा छ ।
सुदूरपश्चिम प्रदेशमा कुल ९,२०,५३८ व्यक्ति (३४.१६%) गरिबी रेखामुनि छन् । सन् २०२० मा गरिएको सर्वेक्षण अनुसार प्रदेशको श्रमशक्ति सहभागितादर २७.३% छ र बेरोजगारीदर ११.५% छ । सन् २०१९ मा प्रदेशमा बहुआयामिक गरिबी २५.३५% छ र मानव विकास सूचकाङ्क ०.५४७ (अर्थात् निम्न मानव विकास श्रेणी) छ ।
१. सुदूरपश्चिममा मानव पूँजी संकट
• प्राथमिक तहमा विद्यार्थी: ५,४७,५४५
• माध्यमिक तहमा विद्यार्थी: १,९९,८६५
• बीचमै विद्यालय छाड्ने संख्या: ३,४७,६८० (६३.४९%)
• कुल जनसंख्या: २६,९४,७८३
• विदेशमा जनशक्ति: ३,४३,५२३ (१२.७४%)
• गरिबी दर: ३४.१६% (नेपालकै उच्चतम)
२. वित्तीय असमानता
• शिक्षामा राष्ट्रिय बजेट: रु. २ खर्ब ११ अर्ब १७ करोड
• सुदूरपश्चिमको हिस्सा: रु. ३० अर्ब ७४ करोड १२ लाख
३. गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रणनीतिक महत्व
यो विश्वविद्यालयले स्वास्थ्य सेवा पहुँच विस्तार, दक्ष जनशक्ति उत्पादन, वैदेशिक पलायन न्यूनिकरण, र क्षेत्रीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।
४. सीप विकास तथा आर्थिक सम्भावना
• वार्षिक १,००० युवालाई तालिम प्रदान गर्दा
 ३–५ मिलियन अमेरिकी डलर बराबरको जीडीपीमा योगदान सम्भव
 दीर्घकालीन रूपमा उच्च गुणात्मक आर्थिक प्रभाव
५. पूर्वाधार सन्दर्भ
• नेपालमा कुल सडक सञ्जाल: ३६,१३२ कि.मि.
• सुदूरपश्चिममा राजमार्ग: करिब १,३५४ कि.मि.
६. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान (राष्ट्रिय प्राथमिकता)
• कुल अनुमानित लागत: रु. २५.५५ अर्ब
• DPR तथा EIA स्वीकृत
• दर्शक क्षमता: ५०,०००
• प्रारम्भिक चरणका लागि आवश्यक बजेट: रु. ४ अर्ब
७. प्राथमिक लगानी क्षेत्रहरू
1. शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय: रु. २ अर्ब ५८ करोड
2. सीप विकास संस्था: रु. १० करोड
3. फाप्ला क्रिकेट मैदान: रु. ४ अर्ब
4. सिकल सेल परीक्षण कार्यक्रम: रु. २ करोड
८. निष्कर्ष
शिक्षा, स्वास्थ्य, सीप विकास र पूर्वाधार क्षेत्रमा लक्षित तथा रणनीतिक लगानीमार्फत सुदूरपश्चिम प्रदेशलाई दिगो विकासको केन्द्रका रूपमा रूपान्तरण गर्न सकिन्छ। यसले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *