विश्व मिर्गौला दिवस, म र मेरा अनुभूति

184
Shares
– हिमालय तिवारी

आज १२ मार्च, विश्व मिर्गौला दिवस । संसारभर यो दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

मिर्गौला रोगसंग जोडिएको व्यक्ति भएका कारण मेरा लागि पनि आजको दिन विशेष दिन नै हो । मैले १९ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको हुँ ।

दिवसकै अवसरमा आज मिर्गौला र यससंग जोडिएको केही प्रसंग यहाँहरु समक्ष राख्न चाहन्छु । मिर्गौला रोगबारेमा सचेतनाको अवस्थाबारेमा भन्न चाहन्छु ।

कतिवटा मिर्गौला फेल ?

तपाईँले कत्तिको ख्याल गर्नु भएको छ, समाजमा अहिले पनि दुबै मिर्गौला फेल भएपछि मात्रै डायलासिस वा प्रत्यारोपणमा जानु पर्ने अवस्था आउँछ भनेर धेरैलाई थाहा छैन ।

यदि कसैले मिर्गौलाका बारेमा सोध्यो र फेल भएका कारण डायालासिस तथा प्रत्यारोपणमा जानु पर्ने भयो भन्ने जवाफ पायो भने उसको दोस्रो प्रश्न हुन्छ एउटा कि दुईवटा ? मिर्गौला प्रत्यारोपण वा डायलासिसमा जाने अवस्थामा आउनु भनेको दुईवटै मिर्गौला फेल भएर हो भन्ने अधिकांश व्यक्तिहरुलाई थाहा छैन ।  सर्वसाधारण होईन, स्वयं स्वास्थ्यकर्मी (चिकित्सक)हरुले समेत समेत यसरी प्रश्न गरेको पाएको छु ।

सवैले थाहा पाउनु पर्ने साधारण कुरा के भने कुनै पनि व्यक्तिको दुईवटा मध्ये एउटा मात्र मिर्गौला कुनै कारणवस बिग्रिएको रहेछ र अर्को स्वस्थ रहेछ भने त्यसले जीवनभर राम्रो काम गर्न सक्छ । त्यो व्यक्ति प्रत्यारोपणमा जानु नै पर्दैन । दुबै मिर्गौला फेल भएपछि मात्रै प्रत्यारोपण तथा डायलासिसमा जाने हो ।

प्रत्यारोपण गरेको छु भनेर किन भन्ने ?

अर्को थाहा पाउनु पर्ने कुरा के भने, हामी मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिहरुले प्रत्यारोपण गरेको मिर्गौला जोगाउनका लागि रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति कम गर्ने औषधी खानु पर्ने हुन्छ । यसले हामी प्रत्यारोपितलाई सामान्य रुघा खोकीले पनि समस्या पार्न सक्छ ।

त्यसैले स सानो कुरामा ख्याल गर्नु पर्ने हुन्छ । नत्र गम्भीर असर गर्न सक्छ । त्यसैले हरेक ठाउँमा हामीले भन्नु पर्ने हुन्छ मेरो मिर्गौला प्रत्यारोपण गरेको छ’ । यसले आफू, आफन्त र परिवारलाई समेत सजग हुन सहयोग गर्दछ ।

चित्त दुख्ने कुरा 

म अहिले पनि संघीय अस्पतालमा काम गर्दछु । अरु कर्मचारीले जस्तै सामान्य रुपमा डिउटी पुरा गर्दछु । प्रसंगवस मैले आफू मिर्गौला प्रत्यारोपित व्यक्ति हुँ भनेर जानकारी गराएँ भने कतिपय व्यक्तिहरुले तपाईँ त कति भाग्यमानी भनेर सहानुभुतीका माला गास्न थाल्नुहुन्छ । अझ, मैले १९ वर्ष भै सक्यो प्रत्यारोपण गरेको भन्दा खेरी त झन् जिब्रो टोकेरै सहानुभूती टक्र्याउनु हुन्छ ।

मलाई भने यस्तो व्यवहारले चित्त दुख्छ ।

यसरी दिईने सहानुभूतीले मलाई अत्यन्तै कमजोर, निर्वल र भाग्यले बाँचेकाको सूचीमा राखे जस्तो महसुस हुन्छ ।

मलाई मात्रै होईन हरेक मिर्गौला प्रत्यारोपित व्यक्तिहरुलाई यस्तै हुन्छ । किनभने मिर्गौला प्रत्यारोपित व्यक्ति अन्य सरह नै काम गर्छ सक्छम छन् । ठूला ठूला जिम्मेवारीमा रहेको उदाहरण त हाम्रो देशमा नै छ । मिर्गौला प्रत्यारोपण पछि जीवन सामान्य र थप उर्जाशील बन्छ । यता तर्फ किन नसोचेको होलान ? भन्ने मनमा आई नै रहन्छ ।

मिगौला प्रत्यारोपण र आयू

कतिपयले गर्ने हाँसो मजाकका क्रममा मिर्गौला प्रत्यारोपितहरुलाई भन्ने गरेको सुनेको छु, फलानोको मिर्गौला फेरेको छ अब कति वर्ष बाँच्ला र ? मिर्गौला प्रत्यारोपित हो अब उ धेरै बाच्दैन । आदि आदि ।

म त्यही हुन्छु, मन अमिलो हुन्छ । मन मनै सोच्छु यस्ता शब्द प्रयोग नगरिदिए हुने वा हाम्रो अगाडि नभनी दिए हुने जस्तो लाग्छ तर पनि खिस्स हास्नु पर्छ । फेरी मन मनै सोच्छु, व्यक्तिको आयू तोक्ने सोच कहाँबाट पलायो होला ? को कति बाँच्छ कसले भन्न सक्छ ? तर पनि मानिसहरु प्याच्च बोल्छन् ।

म भन्छु अब देखि यसरी आयू नतोकम । को कतिबेला जान्छ त्यो कसैलाई थाहा छैन । प्रत्यारोपण गरेका हामी र नगरेका तपाईँहरुको अवस्था एउटै नै हो । अझ हामी आफ्नो स्वास्थ्यप्रति अझ बढी चनाखो हुन्छौँ ।

मिर्गौला फेल भएका नयाँ व्यक्तिहरुमा मेरो अनुरोध

मिर्गौला बिग्रिए पछि यसको उपचार भनेको डायलासिस वा प्रत्यारोपण हो । त्यसमा सबै भन्दा राम्रो भनेको प्रत्यारोपण नै हो । यसको लागि सबै भन्दा पहिले चाहिने आफ्नो परिवार भित्रको स्वस्थ मिर्गौलादाता हुनु पर्छ । नेपालको कानुनले परिवारको परिभाषालाई बृहत् बनाए पछि मिर्गौला प्रत्यारोपण धेरै सहज हुने गरेको छ तर पनि परिवार मा कति रक्तसमूह नमिल्ने त कतिपएको शारीरिक समस्या भएकोले बिरामीहरु डायलासिस गर्न बाध्य छन् ।

धेरै त जनचेतना नहुँदा समेत समस्यामा परेका छन् । जब मिर्गौला दानको कुरा उठछ, परिवारको स्वस्थ सदस्यले म कमजोर छु मिर्गौला दान गरे पछि झन कमजोर हुन्छु,  अझै श्रीमान श्रीमतीमा त दुवैको अप्रेशन के गर्ने, दुबैजना कमजोर भएर बालबच्चा कसरी हुर्काउने भन्ने गरेको पाइन्छ । तर बुझ्नु पर्ने कुरा के भने मिर्गौला दाताको शरीरको सम्पूर्ण परीक्षण गरेर सम्बन्धित विशेषज्ञ डाक्टरले मिर्गौला निकालेको कारण कुनै समस्या आउँदैन भन्ने एकिन भए पछि मात्र मिर्गौला दान गर्न मिल्छ । त्यसैले मिर्गौला दान गर्दा डराउनु पर्दैन । व्यक्ति स्वस्थ भएर दैनिक जीवनयापन गर्न सक्छ मिर्गौला दान गर्नु भन्दा अगाडिको जस्तै ।

धर्मशास्त्रले पनि त अंगदानलाई प्रोत्साहन नै त गरेको छ

महान ऋषि दधिचिले तपस्या गरेको भूमी हो भनिन्छ नेपाल । धर्मशास्त्रमा उल्लेख भए अनुसार दधिचि ऋषि जसको नाम अहिले पनि अरुको हितको लागि लोक कल्याणको लागि त्याग बलिदान गर्न सक्ने ऋषिको रुपमा चिनिन्छन् ।

एक पटक देवता र असुरहरुको बीचमा धेरै ठूलो लडाई भयो, जब असुरहरुले देवताहरुलाई जित्दै गए देवताहरु भागेर भगवान विष्णुको शरणमा पुगे भगवान विष्णु ले यी असुरहरुको नाश गर्न दधिची ऋषिको हड्डीबाट बनेको बज्रले मात्र सम्भव छ भने पछि देवताहरु दाधिची ऋषिको कुटीमा आएर लोक कल्याणको लागी आफ्नो हड्डी दान गर्न बिन्ती गर्दा उनले प्रसन्नता भावमा देहत्याग गरी स्वर्ग गएको प्रसंग उल्लेख छ । त्यसपछि उनको हड्डीले बनाएको बज्रको प्रयोग गरी असुर हरुको नास गरेको पाइन्छ ।

महान ऋषि दधिचिले उ बेला अंगदान गरेको प्रसंग आईरहँदा हामी अहिलेको २१ औँ शताब्दीमा अंगदान गर्न किन पछि पर्ने ? दधिचि ऋषिको तपो भूमि नेपालमा मिर्गौला बिग्रिएर बाँच्ने आशामा डायलासिस गर्दै बसेका हजारौ मिर्गौलाका बिरामीहरुलाई कुनै कारणबस ब्रेन डेथ (मस्तिष्क मृत्यु) भएका व्यक्तिहरुको अंग दिन किन अफ्टेरो ? ऋषिमुनीकै पालामा अंगदान गरी ज्यान बचाउने कार्य भएको छ भने हामीले अंगदान गर्दा धर्मविरुद्ध हुने भन्ने कुन शास्त्रमा छ ? त्यसैले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गरी पुन्य कमाऔँ ।

नेपालमा अहिले एउटा ब्रेन डेथ भएको व्यक्तिबाट अहिले नै कम्तीमा तीन जना बिरामी बचाउन सकिन्छ । दुई मिर्गौलाले दुई जना र एक जनालाई कलोजो प्रत्यारोपण गर्न सकिन्छ । यस्तै दुई जना व्यक्ति लाई आँखा देखाउन सकिन्छ, यस्तै छालाको पनि प्रत्यारोपण गर्न सकिन्छ । यस्तो पवित्र र महान कार्यबाट परिवारले बञ्चित गरिएको हुन्छ स्वर्ग जाने नाममा ।

हाम्रो धर्मग्रन्थ बमोजिम शरीर दान गरे पछि दधिचि ऋषिले जसरी स्वर्ग प्राप्त भयो र उहाँको नाम आज सम्म श्रदापूर्वक लिइन्छ । त्यसैले ब्रेन डेथ भएका हाम्रा परिवारको सदस्यको अङ्गदान गरेर दधिचि ऋषिको बाटोमा हिँडाएर स्वर्ग पठाउन सकिन्छ ।

किनभने त्यसरी प्राप्त अङ्गदानले नेपालमा हाल कम्तीमा तीन जनाको ज्यान त बाँच्ने नै छ । उनीहरुले अङ्गदातालाई हरेक पल आशिष दिई रहेका हुन्छ्न् । त्यसो हुँदा मृतकको आत्माले शान्ति पाउँछ आत्मा सधैं खुसी हुन्छ । त्यसैले अंगदान लाई प्रोत्साहित गरौं ।

अन्त्यमा,

मिर्गौला मानिसको शरीर भित्र हुने निकै महत्वपूर्ण अङ्गहरु मध्ये एक हो । सामान्यतया मिर्गौला एक व्यक्तिमा दुई ओटा हुन्छ्न् । केही व्यक्तिमा तीनवटा त केहीको एउटा मात्र पनि हुन्छ तर एउटा वा तीनवटा हुँदा यसले जीवन यापनमा कुनै असर गर्दैन । जब मिर्गौलाले काम गर्छ छोड्छ अनि प्रत्यारोपण वा डायलासिस गर्नु पर्ने हुन्छ। त्यसैले मिर्गौला जोगाउनका लागि हामीले नियमित परीक्षणमा जानु पर्छ । अहिले गाउँघर तथा शहर बजारमा धेरै जसो ठाउँमा सामान्य रुपमा रगत तथा पिसाव परीक्षणबाट मिर्गौलाको अवस्था जाँच गर्न सकिने भएको छ । यसमा हामी सबैको ध्यान जाओस् । उच्च रक्तचाप, मधुमेह जस्ता रोग भएका व्यक्तिहरुको अझ बढी ध्यान पुगोस । विश्व मिर्गौला दिवसको सबैमा हार्दिक शुभकामना ।

#तिवारी भरतपुर अस्पतालमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *