सुदूरपश्चिमबाट परिवर्तनको उद्घोष:

कैलाली–५ लाई देशकै नमूना क्षेत्र बनाउने रास्वपा उम्मेदवार डा. आनन्दबहादुर चन्दको संकल्प

16
Shares

धनगढी, ६ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ मा उम्मेदवार बनेका डा. आनन्दबहादुर चन्दले धनगढीबाट देशबाट देश परिवर्तनको सुरुवात हुने उद्घोष गरेका छन्।

धनगढीमा आज आयोजित परिवर्तन उद्घोष कार्यक्रमलाई सम्बोधन गर्दै उनले कैलाली–५ लाई देशकै नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट कार्ययोजना समेत सार्वजनिक गरेका छन् ।

कार्यक्रम पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको उपस्थिति रहेको थियो।

सो क्रममा डा. चन्दले सुदूरपश्चिमको ऐतिहासिक योगदान स्मरण गर्दै परिवर्तनको बिगुल यही क्षेत्रबाट फेरि फुकिएको बताए।

गेटादेखि सेतीसम्म : स्वास्थ्य क्षेत्रमा ठोस योजना

परिवर्तनका एजेण्डा सहित प्रस्तुत भएका उम्मेद्वार डा. चन्दले गेटामा वर्षौंदेखि अलपत्र संरचना र सेती अस्पतालमा देखिएको बेड तथा आईसीयू अभावबीचको विरोधाभास औंल्याउँदै मेडिकल शिक्षा सञ्चालन र सेती अस्पताल सुदृढीकरणमार्फत जनशक्ति र उपचार दुवै समस्या समाधान गर्ने योजना प्रस्तुत गरे।

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सिकलसेल एनिमियाको समस्यालाई प्राथमिकतामा राखेर गाउँस्तरमै नियमित स्क्रिनिङ र चेतना अभियान सञ्चालन गर्ने घोषणा गरे।

उनले सिकलसेल उपचारका लागि राज्यद्धारा हाल उपलब्ध एक लाख रुपैयाँ सहयोग अपर्याप्त रहेको उल्लेख गर्दै त्यसलाई वृद्धि गर्न पहल गर्ने वाचा समेत गरे।

शिक्षास् प्रमाणपत्र होइन, रोजगारीमुखी प्रणाली

सम्वोधनका क्रममा डा. चन्दले देशमै शिक्षाको अवस्था दयनीय भएको उल्लेख गर्दै त्यसमा सुधार गर्न सकिने योजना समेत प्रस्तुत गरे । कैलाली–५ मा प्राथमिक तहमा भर्ना भएका विद्यार्थीमध्ये ३० प्रतिशतभन्दा कमले प्लस टू उत्तीर्ण गर्ने तथ्य प्रस्तुत गर्दै उनले वर्तमान शिक्षा प्रणालीले सीपयुक्त जनशक्ति उत्पादन गर्न नसकेको बताए।

अब प्रमाणपत्र दिने मात्र होइन, रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक रहेको उनको भनाइ थियो।

एआई, मेसिन लर्निङ, सफ्टवेयर, फिनटेक, डेटा र साइबर सेक्युरिटी जस्ता आधुनिक विषय धनगढीमै अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता उनले जनाए।

फाप्ला स्टेडियमलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने योजना

सुदूरपश्चिमको गौरवका रूपमा रहेको फाप्ला स्टेडियमलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बहुउद्देश्यीय रंगशालाका रूपमा विकास गरी खेल पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्ने योजना पनि उनले अघि सारे।

यसलाई सिंगो सुदूरपश्चिमको साझा गौरव परियोजनाका रूपमा अघि बढाउन सबै राजनीतिक दल र उम्मेदवारलाई एकमत हुन आग्रह गरे।

औद्योगिक विकास र रोजगारी सिर्जना

युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै कैलाली–५ लाई सुदूरपश्चिमको औद्योगिक केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए।

लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख गर्दै युवालाई कुलतबाट जोगाउन राज्यले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।

पर्यटन र सांस्कृतिक सम्भावना

डा चन्दले सम्बोधनका क्रममा पर्यटन विकासका लागि शिवपुरी धाम, बेहडाबाबा जस्ता धार्मिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन र चीनसम्म जोड्ने सडक सञ्जाल विस्तार गर्ने योजना सुनाए ।

उनले थारु समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका रूपमा विकास गर्ने लक्ष्यसमेत व्यक्त गरे।

कृषि आधुनिकीकरण र किसानको हित

कृषिलाई अर्थतन्त्रको मेरुदण्ड उल्लेख गर्दै उनले समयमै मल–बीउ उपलब्ध गराउने, किसानलाई बिचौलियाबाट जोगाउने र राज्यले अग्रिम मूल्य निर्धारण गर्ने व्यवस्था लागू गर्ने प्रतिवद्धता जनाए। उनले भने, ‘अर्थतन्त्रको मेरुदण्ड— कृषि हो। कृर्षिलाई आधुनिकीकरण गर्नुपर्नेछ। तर हामी मलबिउमा अल्झिएका छौं । हामीले दुख गरेर लगाएको बालीको उचित मूल्य पाएका छैनौं । अब हामी यो अवस्था बदल्छौं । समयमै मलबिउ दिन्छौं, किसानलाई विचौलियाबाट ठगिन नदिन राज्यले पहिल्यै मूल्य तोक्ने व्यवस्था गर्छौं ।’

‘धनको गढ’ बनाउने लक्ष्य

कैलाली–५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य र भौतिक विकासका दृष्टिले देशकै नमूना निर्वाचन क्षेत्र बनाउने संकल्प व्यक्त गर्दै डा चन्दले देश–विदेशबाट प्राप्त ज्ञान र अनुभवलाई नीतिनिर्माणमा प्रयोग गर्ने बताए।

सेवा लिँदा सास्ती नहुने सुशासन स्थापना गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले सुदूरपश्चिमलाई अब विकासबाट ‘दूर’ नराख्ने विश्वास व्यक्त गरे। उनले धनगढीलाई आर्थिक विकासबाट धनको गढ बनाउन चाहन्छौं भन्दै भौतिक विकासबाट धनगढी उपमहानगरलाई नमूना सहर तथा कैलाली-५ हरेक दृष्टिबाट देशकै नमूना निर्वाचन क्षेत्र बनाउने दावी गरे ।

परिवर्तनको उद्घोष धनगढीबाट सुरु गरिएको भन्दै उनले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेकोमा पार्टी नेतृत्वप्रति आभार प्रकट गरे।

डा चन्द यसअघि नै स्वास्थ्य शिक्षा अभियन्ता तथा सफल युवा उद्यमीका रूपमा राष्ट्रिय स्तरमा परिचित व्यक्ति हुन् । धनगढी क्षेत्र नं ५लाई देशकै नमूना क्षेत्रको रुपमा परिवर्तन गर्ने अठोटका साथ उम्मेदरवारी दिएपछि पुराना दलहरुले कडा चुनौतीको सामना गर्नुपरेको स्थानीय मतदाताहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *