नेपाल चिकित्सक संघ कार्यकारिणी समितिको म्याद लम्ब्याउने प्रस्तावमाथि परिषद् सदस्यहरुको फरक मत, विधान विपरीत निर्णय नगर्न चेतावनी
चिकित्सक संघका अध्यक्ष डा. कार्की भन्छन्, 'कहाँ निर विधान मिचियो ?'

काठमाडौं, असोज ५ । नेपाल चिकित्सक संघको आज बसेको परिषद् बैठकमा नेपाल चिकित्सक संघको बर्तमान कार्यकारिणी समितिको म्याद लम्ब्याउने गरि ल्याइएको प्रस्तावमाथि पाँचजना सदस्यहरुले लिखित रुपमा असहमति राखेका छन् । उनीहरुले म्याद थप गर्ने निर्णय विधान विपरीत हुने भन्दै फरक मत दर्ता गराएका हुन् ।
त्यसरी फरक मत राख्ने सदस्यहरुमा डा छवि पन्थी, डा दीपेन्द्र पाण्डे, डा अमित उप्रेती, डा अपिल उप्रेती र डा सञ्जीतकुमार साह छन् ।
त्यसो त बर्तमान कार्यकारिणी समितिको म्याद आगामी २० फागुन देखिसकिदैछ । म्याद समाप्त हुनु अघि नै निर्वाचनबाट नयाँ कार्यसमिति आउनु पर्ने थियो । तर, त्यसका लागि गठन गरिएको डा. प्रणयरत्न शाक्य नेतृत्वको निर्वाचन समिति ‘अदालती लफडा’मा परेपछि निर्वाचन नै अनिश्चित भएको हो ।
फरक मत राख्नेहरुले संघको विधान २०४७ को धारा ( झ)मा यदि केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुन सकेन र कार्यकाल समाप्त भयो भने संघ सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी परिषदमा रहने व्यवस्था रहेको भन्दै विधानले कार्यसमितिको म्याद थप्ने अधिकार परिषद्लाई नदिएको दावी गरेका छन् ।
उनीहरुले आगामी २१ फागुन देखि परिषद्का सदस्यहरुमध्येबाट परिषद् कार्यसमिति गठन गरी संघको दैनिक कार्यसञ्चालन र निर्वाचनको प्रक्रिया अघि बढाउन माग समेत गरेका छन् । उनीहरुले आफ्ना मागको वेवास्ता गरी विधान विपरित कार्य भए नयाँ परिषद् कार्यसमिति गठन गर्न आफूहरु बाध्य हुने समेत चेतावनी दिएका छन् ।
फरक मत राख्ने मध्येका एक सदस्य डा छवि पन्थीले विधानमा उल्लेख नभएको र गर्नै नमिल्ने प्रस्ताव निर्णयका लागि भन्दै पेश भएपछि आफूहरु विरोधमा उत्रिएको बताए ।
कानून विपरित कार्य गर्दा निर्वाचन समिति कानूनी लफडामा फसेकोले यो अवस्थामा पुगेको स्मरण गराउँदे उनले विधि विधान र कानूनमा रहेर अघि बढ्न सुझाव समेत दिए ।
यता संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की भने म्याद थप गर्ने प्रस्ताव विधान अनुसार नै ल्याएको जिकिर गरे । उनले यसअघि मधेश आन्दोलनको बेलामा पनि यसरी नै कार्यसमितिको म्याद थपिएको स्मरण गराउँदै सहमतिमा आउन समेत आग्रह गरे ।
उनले ‘अहिले निर्वाचनमा छिरिसकेको भन्दै पुरानो कार्यसमितिले नयाँ कार्यसमिति आउँदासम्म काम गर्ने भन्ने कुरा आपत्तिको विषय कहाँ निर भयो ?’ भन्दै प्रति प्रश्न समेत गरे ।

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ