रक्तदान जागरण गीतहरूको सामूहिक लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौं, १२ पुस । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगर समितिद्वारा “सांगीतिक माहोलमा गरौं रक्तदान ” भन्ने नारासहित बिहीबार रक्तदान तथा रक्तदान जागरण गीतहरूको सामूहिक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
प्रेमपूर्ण सानुमैयाँ असहाय सेवा कोषको सहयोगमा नेपाल पुलिस क्लबको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बौद्ध भिक्षु कोण्डन्य महास्थविरज्यूले १८ वर्ष पूरा गरी पहिलो पटक रक्तदानमा सामेल हुन लागेकी निर्जला दुलाललाई रक्त संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको शब्द रचना तथा वरिष्ठ संगीतकार मनराज नकर्मीको संगीत संयोजनमा तयार भएका छ वटा रक्तदान जागरण गीतहरू सामूहिक रूपमा लोकार्पण गरियो ।
सो अवसरमा बोल्दै गीतका रचनाकार समेत रहेका शतक रक्तदाता कर्माचार्यले संगीत क्षेत्रमा रचनाकारहरू प्रायः ओझेलमा पर्ने गरेको उल्लेख गर्दै गीत–संगीतको मूल आत्मा शब्दमै निहित हुने धारणा राखे। उनले नेपालमा पहिलो पटक रक्तदान जागरण गीत “रक्तदान गरि गरौं जीवनदान” सार्वजनिक गरेको स्मरण पनि गरे ।
कार्यक्रममा रक्तदान जागरण गीतमा योगदान पुर्याएका कलाकारहरूलाई प्रमुख अतिथि भिक्षु कोण्डन्य महास्थविरज्यूबाट कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सोही अवसरमा नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामलाई बधाई तथा शुभकामना–पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । संगीत र सामाजिक सेवाको संयोजनमार्फत रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमलाई सहभागीहरूले प्रेरणादायी पहलको रूपमा प्रशंसा गरेका छन् ।
सो अवसरमा रक्तदान जागरणमा योगदान पुर्याएका कलाकार तथा रक्तदाताहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष राम रञ्जितको सभापतित्व तथा डा। घनश्याम खतिवडाको सहजीकरण रहेको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

