स्वास्थ्य मन्त्री डा. शर्माद्धारा आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार वैद्यखानाको अनुगमन

32
Shares

काठमाडौं, ११ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार वैद्यखानाको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् ।

आयुर्वेद समूहका स्वास्थ्यकर्मी लिएर नरदेवी पुगेकी मन्त्री शर्माले बहिरङ्ग तथा अन्तरङ्ग सेवा विभाग, प्रयोगशाला, बिरामी सहायता कक्ष, शल्यक्रिया कक्ष, स्त्री तथा प्रसूति उपचार कक्ष, पञ्चकर्म विभाग र एक्युपङ्क्चर विभाग लगायतका शाखाहरूको अवलोकन गरेकी थिईन । सो क्रममा चिकित्सालयका निर्देशक डा. बासुदेव जनार्दन उपाध्यायले अस्पतालको अवस्था, प्रगति, भावी योजना तथा विद्यमान चुनौतीबारे जानकारी गराएका थिए ।

निरीक्षण पछि मन्त्री गौतमले अस्पतालबाट प्रवाह हुँदै आएको सेवाको प्रशंसा गर्दै अत्यावश्यक स्रोत–साधन उपलव्धताका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताईन् । उनले समयानुकूल आयुर्वेद तथा वैकल्पिक चिकित्साको अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित उपचार पद्धतिको प्रवर्द्धनमा जोड दिदै समुदायस्तरमा योग, ध्यान र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिन । सो क्रममा उनले चिकित्सालय परिसरमा भेटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूसँग संक्षिप्त अन्तरक्रिया समेत गरेकी थिईन ।

नरदेवी पछि मन्त्री शर्माले शुक्रबार सिंहदरबार वैद्यखानाको समेत निरीक्षण गरेकी छन् । मन्त्री आएको मौकामा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले संस्थाको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र भावी योजनाबारे प्रस्तुतीकरण गर्दै सङ्गठन संरचना तथा दरबन्दी स्वीकृति, कर्मचारीको स्तरवृद्धि, परम्परागत ज्ञानको संरक्षण र भौतिक पूर्वाधार विकासका लागि मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

सो क्रममा मन्त्री डा शर्माले शिलाजित शोधन प्रक्रिया, कच्चा पदार्थ तथा औषधी गुणस्तर परीक्षण प्रयोगशाला, च्यवनप्राश पाकशाला, रसशाला, प्रस्तावित जीएमपी विभाग र औषधी भण्डारण स्थलको अवलोकन गरेकी थिईन् । उनले ऐतिहासिक महत्वका पुराना यन्त्र तथा औजारलाई संग्रहालयका रूपमा व्यवस्थित गर्न, स्वदेशी जडीबुटीमा आधारित औषधि उत्पादन विस्तार गर्न तथा औषधीको सहज उपलव्धताका लागि रणनीतिक स्थानहरूमा बिक्री काउन्टर थप्न निर्देशन दिएकी थिईन् ।

मन्त्री गौतमले वैद्यखानाले नेपालको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै संस्थाको पुनर्संरचना, कर्मचारीको वृत्ति विकास र क्षमता अभिवृद्धिका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन । साथै उनले आयुर्वेदिक औषधीको दिगो उपयोग र मूल्य अभिवृद्धिका लागि ‘राष्ट्रिय औषधीजन्य वनस्पति प्राधिकरण’ स्थापना, औषधीमा नवप्रवर्तन र आफ्नै जडीबुटी उद्यान विकास आवश्यक रहेको समेत बताएकी थिईन ्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *