अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष बने प्राडा अमिरबाबु, सदस्यहरुमा थप तीन जना चिकित्सक नियुक्त

100
Shares

काठमाडौँ, १० पुस । सरकारले अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा प्राडा अमिरबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । प्राडा श्रेष्ठ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक हुन् ।

यस्तै वीर अस्पतालका युरो सर्जन प्राडा रबिनबहादुर बस्नेत, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जन डा हरि बराल सदस्यमा नियुक्त भएका हुन् ।

खबर यतिवेला सार्वजनिक भए पनि उनीहरुको नियुक्ती भने केही समय अघि नै भएको हो ।

अध्यक्ष प्राडा श्रेष्ठ तथा सदस्यद्धय प्राडा बस्नेत र प्राडा भण्डारीको गत २१ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने निर्णय भएको हो । अर्का सदस्य डा बरालको भने गत १५ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले नियुक्त गरेका अध्यक्ष र तीन सदस्यको कार्यकाल दुई वर्षको हुनेछ ।

यसअघि समितिको अध्यक्षमा बरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ थिए । गत २६ असारमा उनको दुई वर्षे कार्यकाल सकिएपछि समिति नेतृत्वविहीन थियो ।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को परिच्छेद ३ दफा १२ मा अङ्ग प्रत्यारोपण समन्वय समिति गठनको व्यवस्था उल्लेख छ । सो अनुसार अध्यक्ष पदमा नेपाल सरकारले मनोनित गरेको बरिष्ठ चिकित्सक र सदस्य तीन जना पनि नेपाल सरकारबाट मनोनित हुने व्यवस्था छ । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माको सिफारिसमा उनीहरु नियुक्त भएका हुन् ।

यसबाहेक समितिमा पदेन सदस्य हुने व्यवस्था पनि छ ।

त्यसमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको स्वास्थ्य मन्त्रालयबाट एक जना प्रतिनिधि, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट एक जना प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलबाट एक जना प्रतिनिधि, नेपाल चिकित्सक संघबाट एक जना प्रतिनिधि रहने व्यवस्था छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक भने सदस्य सचिव हुने प्रावधान छ ।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा नै अङ्ग प्रत्यारोपण सम्बन्धमा नीति, योजना तथा कार्यक्रम तयारी गरी सरकारलाई पेश गर्न समन्वय समितिको गठन हुने व्यवस्था छ । समितको सचिवालय स्वास्थ्य सेवा विभागमा रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *