नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा म उठ्नु पर्ने किन ? मैले जित्नुपर्ने किन ? – डा. छविलाल पन्थी (छवि)

नमस्कार म डा. छविलाल पन्थी (छवि) ।
यहाँहरुलाई थाहा नै छ, नेपाल मेडिकल काउन्सिलको रिक्त उपाध्यक्ष र आठ जना सदस्य पदका लागि निर्वाचन हुँदैछ । काउन्सिलले उक्त निर्वाचन आगामी ४ र ५ पुसमा काठमाडौँ उपत्यका बाहिर अनि ११ र १२ पुसमा काठमाडौँ उपत्यका भित्र गर्दैछ । सोही निर्वाचनमा मैले सदस्य पदका लागि उम्मेद्धारी दिएको छु । याद गर्नुहोला सदस्य पदमा मेरो उम्मेद्धारीको क्रम संख्या ७ रहेको छ ।
अब, मैले म किन उठें ? मैले किन जित्नु पर्ने ? वा मलाई तपाईँहरुको भोट किन आवश्यक छ ? भन्ने बारेमा केही कुरा बुँदा गत रुपमा राख्न चाहन्छु ।
१. मैले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को आफ्नै आंगिक कलेज स्कुल अफ हेल्थ साईन्स भरतपुरबाट एचए पढें, भोकेसनल तालीमलाई सर्टिफिकेट लेभलको मान्यता दिलाउनको लागि ५५ दिन सडक संघर्ष गरें, पछि २०१२ मा नियम बिपरित काउन्सिलले एचएहरुलाई सूचनाको आधारमा बिदेश पढ्न जान रोकिदियो । जसको बिरुद्ध मेरो नेतृत्वमा सर्वोच्च अदालत गईयो, पहिलो पटक मेडिकल काउन्सिललाई हराएर हामी डाक्टर पढ्यौं, तत्पश्चात अहिले करिब १२०० – १५०० डाक्टरहरु चिकित्सक भएर देशभर कार्यरत हुनुहुन्छ र हाम्रो संघर्षलाई गर्व गर्नुहुन्छ ।
२. २०१६ को मध्यतिर चीनबाट जहाज च्याटर्ड गरेर नेपाल आई हामीलाई नेपालमै ईन्ट्रनसीप गर्न दिनु पर्छ भनेर संघर्ष गर्दा सफलता प्राप्त गर्न सकिएन तर पाटन उच्च अदालतले विद्यार्थीको पक्षमा फैसला गर्दा पनि तत्कालीन नेपाल मेडिकल काउन्सिल (एनएमसी)को जब्बर नेतृत्वले मानिदिएन । हामीलाई निराशता हात लागेको तितो अनुभव छ ।
३. बिदेशमा पढेर नेपालमा समकक्षता प्राप्त गर्न नसकेका थुप्रै डाक्टरहरुको लागि निरन्तर खटेर समकक्षता दिलाउन सहयोग गरें, कतिपयले प्राप्त गर्नु भयो, कतिपयको बाँकी नै छ, यसमा काम गर्नु पर्ने छ । यो सम्बन्धमा काउन्सिलको पदीय जिम्मेवारीले केही गर्न त सकिंदैन तर ब्यक्तिगत रुपमा म काम गर्ने छु ।
४. बिदेशी डाक्टरहरुलाई अन्तर्वार्ताको आधारमा नेपालमा काम गर्न दिईन्छ, बिदेशमा हामीलाई सो अनुरुपको सुविधा छैन, मैले यसमा निरन्तर अड्भोकेसी गरिरहेको छु, यो काम अगाडी बढाउन चाहन्छु ।
५. ५ बर्षमा चिकित्सा शिक्षा आयोगले तीन वटा मात्रै परीक्षा सञ्चालन गर्यो जसले थुप्रै असमानजस्यता निर्माण गरेको छ । हरेक पटक परीक्षा लिने अनि त्यसको ब्यबस्थापनमा समस्या सृजना गरेर दुख दिईरहेको छ, सडक देखी अदालत सम्म गएर अधिक दुःख पाउने म भन्दा माथिको २ ब्याच र आउने ३ ब्याचहरुले भोगेको पिडा म प्रत्यक्ष महसुस गरेको छु । हाम्रो आवाजहरुलाई बिभिन्न फोरमहरुमा मुखरित गरिरहेको छु, गएको ६ बर्षमा ६ वटा आन्दोलन गरेर सडक देखी सदन र सरकार सम्म हाम्रो आवाज बुलन्द गराउने काम गरेको सर्वविदित छ ।
६. ईन्टर्न तथा आवसीय चिकित्सकहरुलाई आन्दोलित बनाएर २० औं बर्ष सम्म फ्रिज भएर बसेको स्टाईपेन्डको ईस्युलाई समधान गर्न मैले सुरक्षित कार्यस्थल संघर्ष समिति र अन्य पक्ष संग मिलेर समधान गरी बहालवाला सबै आवसीय चिकित्सकहरुलाई सरकारी सेवाको ८ औं तह कायम गरी आउने दिनहरुमा पनि तहगत तलब बढ्दा समस्या नहुने गरी समधान गर्न मुख्य भूमिका निर्वाह गरेको छु । यसमा आठौं तहको तलबको ५० प्रतिशत बराबरको तलब ईन्टर्न डाक्टरहरुलाई दिने नीतिगत निर्णय भएको तर कार्वान्ययन गर्ने काम बाँकी छ, मलाई सहयोग प्राप्त भएको खण्डमा अझ शसक्त भूमिका निर्वाह गर्न सक्छु भन्ने लाग्छ ।
७. देशभर परिस्थितिजन्य घटनाहरुमा प्रत्यक्ष संगलग्न भएर सहभागि भई फ्याटरनिटीको बेटरमेन्टमा लडिरहेको यहाँहरु सबैलाई सर्वविदितै छ ।
८. म एचए पढेर सिएमए पढाएर, एमविविएस पढेर एचए पढाएर अहिले काठ्माडौँ युनिभर्सिटीमा एमडी गरिरहेको छु । मलाई स्वास्थ शिक्षा र सेवाका समस्याहरु यथेष्ट थाहा छ । म संग यो अगाडी स्वास्थ्य शिक्षा र ब्यबस्थापनमा स्नातकोत्तर उपाधी छन् । मैले चिकित्सा पेशा र मेडिकल शिक्षालाई फरक दृष्टिकोणले किनारामा बसेर नियाल्न सक्छु, जसले मेडिकल शिक्षाको बृद्धि र बिकासमा टेवा पुर्याउँछ भन्ने लाग्छ ।
त्यसैले म तपाईंहरु समक्ष के प्रतिबद्धता गर्दछु भने फ्याटरनिटीको लागि नराम्रो गर्दिन र अरुलाई नराम्रो गर्न पनि दिँदैन ।
मलाई लाग्छ अन्य प्रत्यासी उम्मेद्वार भन्दा मेडिकल काउन्सिलको सदस्य पदको लागि म अब्बल छु, काबिल छु । मैले मेरा प्रतिस्पर्धीहरुलाई आफ्नो भोट नदिनुस त भन्दिन तर मलाई चाहिं दिनुपर्छ र दिनुस् भन्छु । यो मेरो सविनय आग्रह हो ।
यसबीचमा अर्को एक प्रशंग पनि जोडन चाहन्छु ………….
माथि, उल्लेखित मेरा गतिविधि र क्रियाकलाप सुनेका एक जना मेरा अग्रज दाईले प्रश्न गर्नुभयो,….
‘सुन्दा त खाली आन्दोलनमा सक्रिय जस्तो मात्रै छ, व्यवसायिक जीवनमा कत्तिको ध्यान गएको छ ?’
म, माथि यस्ता प्रश्न उहाँ दाईको मात्रै होईन धेरैले गर्नु हुन्छ ।
त्यसैले यहि निर बुँदागत रुपमा उत्तर दिन चाहन्छु ।
१. खासमा म २०६३ साल देखी स्वास्थ्य सेवा प्रबेश गरेको हो । मैले एचए पास गरि सके पछि आफ्नै जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा एक वर्ष सिएमए पढाएँ र झोला झोलामा औषधी बोकेर बिरामीहरुको घर दैलोमा पुगेर निःशुल्क उपचार गरेको सुखद अनुभव छ ।
२. मैले बीएड तेस्रो बर्षको परीक्षा दिन चितवन आएको बेला गोरखाको आरुघाटमा जागिर खाने अबसर प्राप्त भयो । धादिङवेसीबाट ३७ किलोमीटर हिंडेर त्यहाँ पुगि १४ महिना हेल्थ असिस्टेन्टको रुपमा काम गरेको अनुभव छ । जसले मलाई अति बिनित भएर सेवाप्रवाह गर्नु पर्छ भन्ने प्रेरणा दिई रहन्छ ।
३. मैले आरुघाट छोडे पछि धादिङको मलेखुमा ६ महिना होलसेल औषधी पसलमा काम गर्ने मौका पाएँ तत्पश्चात आफ्नै लगानीमा काठ्माण्डौ, नागपोखरीमा औषधी पसल खोली एक वर्ष स्वास्थ्य व्यवसायी भएर काम गरें । पसल चलिरहेको थियो । १९ बर्षको उमेर थियो । गंगोबुस्थित विनायक अस्पतालमा जागिर खान गएको लिएनन्, बरु केही दिन पछि फिल्डमा काम गर्ने गरि केन्द्रीय स्वास्थ्य संयोजकको रुपमा काम गर्ने अवसर प्राप्त भयो । केही महिना सोही भूमिकामा काम गरे पछि अस्पताल व्यवस्थापकको रुपमा तीन वर्ष काम गरें । सो क्रममा मैले देशका ५५ वटा जिल्ला पुग्ने अबसर प्राप्त गरेको छु । ३१ वटा जिल्लामा मैले प्रत्यक्षरुपमा भेजाईनल हाईस्टेरेक्टोमीको सर्जिकल शिविर सञ्चालनको नेतृत्व गरेको अनुभव छ र उक्त अस्पतालका १२ वटा आउटरिच हस्पिटल निर्माण र संचालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ । यो क्रममा मलाई प्रत्यक्ष नजिकबाट चिन्ने अति आदरणीय, विनीत बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेशज्ञ डाक्टरहरु प्राडा पदमराज पन्त, यम द्वा, विनिता सुवेदी, बिनोद महासेठ, दुर्गा खतिवडा, धिरेन्द्र कुमार शाह, उषा श्रेष्ठ खाँड, श्री अधिकारी, सन्देश पौडेल, रानी झा, सुनिलमणि पोख्रेल साथै एनेस्थीसियोलोजिस्ट बसन्त पन्त, अमिरबाबु, सुरेन्द्र श्रेष्ठ र जनरल सर्जन धर्मेन्द्र कुमार सिंह जस्ता मुर्धन्य व्यक्तित्वहरुको मेन्टरसीप प्राप्त छ र उहाँहरु मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।
४. २०१८ को अगस्त महिनामा एमबीबीएस सके पछि केही समय निष्ट कलेज ग्वार्कोमा पढाएँ पछि पुन गोरखाको आरुघाटमा ६ महिना काम गरें, तत्पश्चात काठमाण्डौका केही क्लिनिकहरुमा निजी प्राक्टिस गरें, सो समयमा हाम्रो श्रदेय डा टिकामान बैध सरको नेशनल फर्टिलिटी केयर सेन्टर, नेपाल सिआरएस कम्पनीमा रहेर परिवार नियोजन सम्बन्धमा मास्टर ट्रेनरको रुपमा देशभर ६० वटा भन्दा बढी तालीम संचालन गरेको अनुभव छ, जसले मलाई देशका ६६ वटा जिल्लामा पुर्यायो पनि ।
५ यसै क्रममा काम गर्दै गर्दा कोभिड – १९ देखा परयो । यो कोभिड १९ ले मलाई स्वास्थ्य मन्त्रालयसंग जोडि दियो । त्यो बेला मैले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा काम गर्ने मौका पाएँ । मैले रेम्डेसिभिर कन्भालेसेन्ट प्लाज्मा, फ्याविपिराभिरको क्लिनिकल ट्रायल लगायतका केही रिसर्चहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु, देशभरका ५२ वटा रिसर्च साईटहरुको व्यवस्थापकको रुपमा काम गरेको अनुभव छ ।
६. कोभिड-१९ पछि पछि पुनः सिटिईभिटीका कलेजहरुमा पढाउँदै आफ्नो व्यवसायिक जीवनलाई अहिले काठमाडौँ विश्वविद्यालयको आफ्नो टिचिंङ अस्पताल, धुलिखेल अस्पतालमा आवसीय मनोचिकित्सकको रुपमा तेस्रो बर्षमा कार्यरत छु ।
मैले व्यवसायिक रुपमा प्राप्त गरेको सीप र ज्ञानहरु मेडिकल काउन्सिलमा पनि प्रयोगमा आउने छ भन्ने लागेको छ । त्यसैले आगामी पुसको पहिलो साताबाट सुरु हुने निर्वाचनमा मलाई यहाँहरुले आफ्नो अमूल्य मत दिएर र दिन लगाएर अत्याधिक मतले जिताउनुहुनेछ भन्ने पुन: आशा गरेको छु ।
धन्यवाद ।
सम्पर्क इमेल : [email protected]







