साइक्लोट्रोन मेसिन ल्याएर नेपालमै ‘रेडियो–आइसोटोप’ उत्पादन गर्ने सरकारको योजना

क्यान्सरका बिरामीका लागि पेटस्क्यान सेवा सस्तो र प्रभावकारी हुने विश्वास
84
Shares

काठमाडौं, २७ कात्तिक । क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने पेटस्क्यान परीक्षणमा प्रयोग हुने केमिकल रेडियो–आइसोटोप नेपालमै उत्पादन गर्ने योजना अघि बढेको छ ।

आइसोटोभ उत्पादन गर्ने साइक्लोट्रोन मेसिन स्थापना र सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सरोकारवाला निकाय र विज्ञबीच विशेष छलफलको आयोजना गरेको थियो ।

शिक्षा मन्त्री महावीर पुनको अगुवाईमा भएको छलफलमा विज्ञ तथा सरोकारवालाहरुले सरकारलाई साइक्लोट्रोन मेसिन खरीद गर्न सुझाव दिएका थिए ।

छलफल पछि बोल्दै मन्त्री पुनले नेपालमा हाल करिब ११ वटा क्यान्सर उपचार अस्पताल रहे पनि आवश्यक रेडियो–आइसोटोप उत्पादन गर्ने मेसिन नहुँदा विदेशी निर्भरता बढेको बताए। उनले मेसिन खरीद गर्न आफू सकारात्मक रहेको जानकारी दिए । ‘यो मेसिन जडान गर्न कम्तीमा ९० करोड रुपैयाँ लाग्ने अनुमान छ, तर यसले हजारौँ बिरामीलाई राहत दिने भएकाले यो काममा कन्जुस्याइँ गर्न हुँदैन,’ मन्त्री पुनले भने।

उनका अनुसार साइक्लोट्रोन मेसिन स्थापना गरी देशमै रेडियो–आइसोटोप उत्पादन गर्न सके पेटस्क्यान सेवा सस्तो, सहज र गुणस्तरीय हुनेछ। बैठकमा सहभागी भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले साइक्लोट्रोन खरीदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र त्यसमा पनि मन्त्री महावीर पुनले अग्रसरता देखाएको बताए ।

‘हामी कहाँ निकै नै जरुरी हो । यो मेसिन आएमा नेपालका विरामीहरुका लागि पनि ठूलो राहत हुन्थ्यो,’ उनले भने ।

त्यसो त बैठकले मेसिन कहाँ राख्ने ? सञ्चालनको मोडेल के हुने ? कस्तो मेसिन ल्याउने ? लगायतका प्राविधिक व्यवस्थापन पनि छलफल भएको थियो । यी विषयमा थप छलफल गरेर खरिद प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ।

पेटस्क्यान मेसिन खरीद गर्दै भक्तपुर क्यान्सर अस्पताल

क्यान्सर रोग विशेषज्ञ समेत रहेका भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले चालु आर्थिक वर्ष भित्र पेटस्क्यान मेसिन खरीद गर्ने गरी प्रक्रिया अघि बढाएको बताए । उनले चालु आर्थिक वर्षभित्र पेटस्क्यान मेसिन खरिद गरेर आगामी २०८३ भदौ–असोज भित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको जानकारी दिए। त्यसका लागि  सरकारले चालु आर्थिक वर्षमा २२ करोड रुपैयाँ विनियोजन गरिसकेको छ।

डा. चालिसेका अनुसार नेपालमा हरेक वर्ष करिब २५ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन्। तीमध्ये १५ देखि २० हजार बढीलाई पेटस्क्यान गर्नुपर्ने हुन्छ। त्यसमा पुराना बिरामी पनि पर्दछन् । ती बिरामी समेत जोड्दा वार्षिक ३० हजारभन्दा बढी नेपालीलाई यो सेवा चाहिन्छ।

हाल काठमाडौंमा दुईवटा र झापामा एउटा गरी तीनवटा निजी संस्थामा मात्र पेटस्क्यान सेवा उपलब्ध छ। ती संस्थाहरू भारतबाट रेडियो–आइसोटोप आयात गरेर सञ्चालन गर्दै आएका छन्।

विदेशी निर्भरता र खर्चिलो सेवा

हाल भारतबाट ल्याइने आइसोटोप ढुवानीका क्रममा रेडियोएक्टिभिटी घट्ने र त्यसले गुणस्तरमा समेत असर पर्न सक्ने विज्ञहरु बताउँदै आएका छन् । यस्तै उतैबाट ल्याइएको रेडियो–आइसोटोपलाई बिरामीले निकै महंगो शुल्क तिर्नुपर्ने समस्या रहेको छ ।
हुन पनि काठमाडौंस्थित कुण्डलिनी डायग्नोस्टिक सेन्टरले हाल पेटस्क्यानका लागि करिब ७० हजार रुपैयाँ लिँदै आएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले आफ्नै मेसिन सञ्चालनमा ल्याएपछि सेवा शुल्क घटाएर करिब ३५ हजार रुपैयाँमै पेटस्क्यान गराउने योजना अघि सारेको छ।

१२ वर्ष पुरानो सरकारको योजना साकार हुँदै

क्यान्सर बिरामीका लागि पेटस्क्यान मेसिन खरिद गर्ने सरकारी योजना विसं २०७० सालमै सुरु भए पनि विगतमा कार्यान्वयन हुन सकेको थिएन। तर अब १२ वर्षपछि त्यो योजना साकार हुने संकेत देखिएको छ।

तत्कालीन राष्ट्रपति डा रामबरण यादवलाई अस्वस्थ हुँदा क्यान्सरको आशंका गर्दै थप परीक्षणका लागि जापान लगिएको थियो । नेपालमा पेटस्क्यान सेवा नहुँदा आफू सो सेवाका लागि जापान जानु परेको भन्दै फर्केपछि उनले स्वास्थ्य मन्त्रालयलाई ठाडो निर्देशन दिएर पेटस्क्यान खरीदका लागि निर्देशन दिएका थिए ।

सोही वर्ष देखि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा राख्ने गरी खरीद प्रक्रिया अघि बढाइएको थियो । तर हरेक वर्ष बजेट विनियोजन गरे पनि सो अस्पतालले खरीद गर्न सकेन । ठ्रयाक्कै १२ वर्ष पछि यसपटक भक्तपुर क्यान्सर अस्पताल मेसिन ल्याउने योजनाका साथ अघि बढेको छ ।

‘पेटस्क्यान मेसिन मात्रै होईन सरकारको यो सक्रियताले त अब साइक्लोट्रोन मेसिन समेत आउनेमा आशावादी छौँ । त्यसबाट आइसोटोभ उत्पादन गर्ने र भक्तपुर क्यान्सर अस्पतालमा रहने पेटस्क्यान मेसिन सञ्चालन हुने अवस्था ल्याउनका लागि हामी कोशिश गरिरहेका छौँ,’उनले भने ।

देशमै सस्तो र गुणस्तरीय उपचारको आशा

साइक्लोट्रोन मेसिन नेपालमै सञ्चालनमा आएपछि रेडियो–आइसोटोप उत्पादन स्वदेशमै हुने भएकाले पेटस्क्यान सेवाको लागत घट्ने, गुणस्तर बढ्ने र बिरामीलाई राहत पुग्ने विशेषज्ञहरूको निष्कर्ष छ।

निजी क्षेत्रले यो क्षेत्रमा ठूला लगानी गर्न नचाहेकाले सरकारी नेतृत्वमा साइक्लोट्रोन स्थापना गर्नु नै उचित हुने सरोकारवालाको मत छ।

बुधबारको बैठकमा पनि विज्ञ तथा सरोकारवाला पक्षले यसमा नाफा भन्दा पनि सेवा महत्वपूर्ण हुने भन्दै सरकारले नै साइक्लोट्रोन मेसिन खरीद गर्न सुझाव दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *