क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्च वर्षीय रणनीतिक योजना बनाईदै, सरोकारवालासंग बसेर केन्द्रले बनायो खाका
विगतको समीक्षा गरेर नयाँ रणनीति बनाऔँ : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, १५ साउन । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आगामी पञ्च वर्षीय राष्ट्रिय रणनीतिक योजना २०८३/ ०८४ – ०८७/ ०८८ तयारीका लागि सरोकारवालासंग परामर्श कार्यशाला गोष्ठी गरेको छ ।
बुधबार सम्पन्न तीन दिने सो गोष्ठीमा स्थानीय तह, प्रदेश तह, संघीय तहका स्वास्थ्यका अधिकारीसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ गरी ८० जना भन्दा बढीको सहभागिता थियो ।
यो टोलीले यसअघिका रणनीतिको सवल र दुर्बल पक्षको समीक्षा गर्दै नयाँ रणनीतिको खाका बनाएको छ ।
केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोग नियन्त्रणका लागि प्रमुख सरोकारवाला पक्ष बसेर आगामी पञ्चवर्षीय रणनीतिका लागि मस्यौदा निर्माण तयारीका लागि प्रारम्भिक खाका बनाउने काम भएको बताए । उनले भने, ‘अहिलेको रणनीतिको बलियो पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीका बारेमा कुरा गरयौँ, त्यसको विश्लेषण गरयौँ, यसमा भएका कमजोरी र ग्यापहरुलाई के गर्दा सुधार गर्न सकिन्छ भनेर पनि विश्लेषण गरयौँ । घनिभुत छलफल पछि हामीले एउटा रणनीतिक मस्यौदाको खाका तयार भएको छ । यसलाई फेरी विभिन्न चरणमा थप छलफल गरेपछि अन्तिम रुप दिईने छ ।’
केन्द्रले आगामी नोभेम्बर सम्ममा यसलाई अन्तिम रुप दिने गरी काम अघि बढाएको बताएको छ ।
विगतको समीक्षा गरेर नयाँ रणनीति बनाऔँ : स्वास्थ्य मन्त्री पौडेल
यसैबीच बुधबार कार्यशाला गोष्ठीको समापन समारोहलाई सम्वोधन गर्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिले र विगतका रणनीतिलाई समीक्षा गरेर नयाँ रणनीति बनाउन सुझाव दिएका छन् ।
‘आगामी पाँच वर्षका लागि रणनीति योजना बनाउन खोजेका छौँ । रणनीति बनाएर काम गर्न थालेको धेरै बर्ष भयो । विगतको अनुभवको आधारमा कति फलदायी भयो ? कति कामीयाव भयो ? कति सुधार गर्नुपर्ने छ ? त्यो अनुभवको आधारमा आगामी रणनीति बनाउनु पर्छ । सुधार ल्याउनका लागि विगतको समिक्षा गरेर नयाँ ढंगबाट अघि बढ्नु पर्छ’ मन्त्री पौडेलले भने ।
‘कार्यशैली, फरम्याट अघिल्लो र अहिलेको उस्तै भएर काम छैन । यसमा तपाईँहरु पोख्त हुनुहुन्छ । अनुभव ज्ञानको आधारमा स्टाटेजिक प्लान बनाएर जानुपर्छ,’ मन्त्री पौडेलले भने ।
कार्यक्रममा डा. झबिन्द्र भण्डारी र कोशी प्रदेशका निर्देशक ज्ञानबहादुर बस्नेतले क्षयरोग निणन्त्रणका लागि गरिएका प्रयास र यसमा आफूहरुका अनुभवबारेमा बताएका थिए ।
क्षयरोगको अवस्था कस्तो ?
त्यसो त अहिले पनि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्ता लगाएका बिरामीहरूको सङ्ख्या र अनुमानित सङ्ख्याबीच अझै पनि ठूलो अन्तर रहेको देखिन्छ । गत वर्ष (२०८०/८१) मा ४० हजार ७७६ क्षयरोगका केसहरू पत्ता लागेका थिए, जसमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र १४ वर्ष मुनिका बालबालिका ८.६ प्रतिशत थिए ।
गएको वैशाखसम्म (१० महिनामा)मा २९ हजार ८७७ नयाँ केसहरू पत्ता लागेको पनि डा. तिवारीले जानकारी दिए । उनका अनुसार क्षयरोगका जोखिम कारकहरूमा धूम्रपान, कुपोषण, मधुमेह, मदिराको प्रयोग र एचआईभी मुख्य रूपमा देखिएको छ ।
डा. तिवारीका अनुसार नेपालमा वार्षिक १६ हजार बढीले क्षयरोगबाट ज्यान गुमाउने गरेको बताए । यसलाई नियन्त्रण गर्नका लागि पनि नयाँ राष्ट्रिय रणनीतिक योजना बनाउन परेको बताएका छन् ।
उनले राष्ट्रिय रणनीतिक योजनाको मुख्य लक्ष्य क्षयरोग मुक्त नेपालु को परिकल्पना गर्नु रहेको जानकारी दिदै यसअन्तर्गत सन् २०३५ सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र सन् २०५० सम्ममा यसलाई पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य राखिएको बताए ।
नेपालले सन् २०२६ सम्ममा क्षयरोगको घटना दर प्रति १ लाख जनसङ्ख्यामा २३८ बाट १८१ मा र मृत्यु दर ५८ बाट २३ मा झार्ने लक्ष्य राखेको छ ।
सम्पर्क इमेल : [email protected]