नर्सिङ लाइसेन्स परीक्षामा जम्मा १९ प्रतिशत पास !
पीसीएल नर्सिङ पढाईको गुणस्तर माथि नै प्रश्न
काठमाडौँ, २२ असार । प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर लाइसेन्स परीक्षामा सहभागी नर्सहरुमध्ये जम्मा १९ प्रतिशत मात्रै सफल भएका छन् । परिषद्का अनुसार गत १७ र १८ गते लिईएको पीसीएल तर्फको ३९ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ९११ जना सहभागी भएकोमा १७७ जना (१९.४३ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।
यो नतिजा पछिल्ला वर्षमा परिषद्ले लिएको सबैभन्दा कम उत्तीर्ण भएको प्रतिशत हो । यसअघि परिषद्ले लिएको परीक्षामा सबैभन्दा कम उत्तीर्ण हुने पीसीएल तर्फ ३३ औँ नाम दर्ता परीक्षा व्याच थियो । २०७९ चैतको पहिलो साता लिएको परीक्षामा २६ प्रतिशत उत्तीर्ण भएका थिए ।
पछिल्लो नतिजाले हामीकहाँका कस्तो गुणस्तरको नर्सिङ जनशक्ति तयार हुँदैछन् भन्ने डरलाग्दो संकेत देखाएको छ । नतिजा कम आएकै कारण हुनसक्छ, यसअघि नतिजा सुनाउन अघि सर्ने परिषद्की रजिष्ट्रार शुक्ला खनाल यसपटक तर्किईन् । उनले नतिजाबारे प्रशासकीय अधिकृत रेखा गिरीलाई सम्पर्क गर्न भनिन् ।
गिरीका अनुसार पीसीएलमा खराव नतिजा आएपनि बीएस्सी नर्सिङ, बीएमएस र विशेषज्ञ नर्स तर्फको नतिजा सन्तोषजनक छ । उनका अनुसार बीएस्सीमा ३२७ जनाले परीक्षा दिएकोमा २०३ जना ६२.०८ प्रतिशत उत्तीर्ण भएका छन् ।
यस्तै बीएमएस तर्फ ५१ जनामा ४२ जना अर्थाृत ८२.३५ प्रतिशत र विशेषज्ञ नर्स तर्फ २७४ जनामध्ये १७५ जना ६६.८७ प्रतिशत उत्तीर्ण भएका छन् ।
विशेषज्ञ नर्सको परीक्षा अब देखि वर्षमा तीन पटक
परिषद्ले यसअघि पीसीएल तथा विएस्सी लगायतका तह र विषयका लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिए पनि विशेषज्ञ (स्पेशलिष्ट) नर्सको लाइसेन्स परीक्षा असारमा मात्रै छुट्टै लिने गर्दथ्यो । तर अब भने सो परीक्षा पनि अन्य परीक्षा सरह वर्षमा तीन पटक नै हुने भएको छ ।
‘यसपटक हामीले पीसीएल, बीएस्सी संगै विशेषज्ञको पनि परीक्षा लियौँ । अब चार महिना पछि हुने परीक्षामा पनि यसै गरी विशेषज्ञहरुको परीक्षा लिने छौँ । अब विशेषज्ञ नर्स बन्नका लागि लाइसेन्स परीक्षा दिन चाहनेहरुले एक एक वर्ष पर्खिनु परेन । हरेक चार चार महिनामा परीक्षा हुने भयो । अब कात्तिकमा पनि विशेषज्ञ नर्सिङ लाईसेन्स परीक्षा हुने भयो,’ उनले भनिन् ।
सम्पर्क इमेल : [email protected]
License ko question dherai garho vayo yo Pali