हृदयघातको जोखिमबाट आफूलाई कसरी जोगाउने ?
एजेन्सी । तपाईंको शरीरको सुचारु राख्न मुटु स्वस्थ हुन निकै नै महत्त्वपूर्ण छ। मुटुले रगत पम्प गर्छ, जसले शरीरको हरेक भागमा अक्सिजन र आवश्यक पोषक तत्वहरू आपूर्ति गर्दछ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा सबैभन्दा बढी मृत्यु गराउने रोग नै मुटु रोग हो । संसारभर प्रत्येक वर्ष, लगभग १ करोड ८० लाख मानिसहरूले मुटुरोगको कारण आफ्नो ज्यान गुमाउँछन्।
हरेक पाँच मृत्युमध्ये चार हृदयघात र स्ट्रोकको कारणले हुन्छन्।
हृदयरोग विशेषज्ञहरू भन्छन्, ‘तपाईं चाहनुहुन्छ भने, तपाईं हरेक दिन थोरै – थोरै मात्र गरेर पनि आफ्नो मुटुको हेरचाह गर्न सक्नुहुन्छ।’ विज्ञहरूका अनुसार स्वस्थ वयस्कको मुटुको धड्कन दर प्रति मिनेट ६० देखि १०० पटक हुन्छ।
अमेरिकी मुटुरोग विशेषज्ञ डा. इभान लेभिनका अनुसार यदि सुरुदेखि नै सन्तुलित आहार, नियमित व्यायाम र सुर्तीजन्य पदार्थबाट दूरी कायम राखियो भने मुटुलाई क्षति हुनबाट बचाउन सकिन्छ।
तर के स्वस्थ मुटु राखेर मात्र मुटुको आक्रमण रोक्न सकिन्छ वा यसले जोखिम कम गर्छ ?
हृदयघात भनेको के हो ?
यदि तपाईंलाई हृदयघात हुन लागेको आभास भईरहेको छ भने, पहिले डाक्टरसँग परामर्श गर्नुहोस्।
हृदयघात तब हुन्छ जब तपाईंको मुटुमा अक्सिजनयुक्त रगतको आपूर्ति बन्द हुन्छ।
यस्तो अवस्थामा, मुटुको मांसपेशीहरू क्षतिग्रस्त हुन सक्छन् वा तिनीहरूले काम गर्न बन्द गर्न सक्छन्। र यो बेला यदि व्यक्तिले समयमै उपचार पाएन भने, यसले स्थायी क्षति निम्त्याउन सक्छ।
यदि यसरी मुटुको ठूलो भाग प्रभावित भयो भने, धड्कन बन्द हुन्छ, जसलाई कार्डियक अरेस्ट अर्थात् ‘हृदयघात’ भनिन्छ र यसबेला व्यक्तिको मृत्यु समेत हुन सक्छ ।
हृदयघातबाट हुने लगभग ५० प्रतिशत मृत्यु लक्षणहरू सुरु भएको पहिलो तीन देखि चार घण्टा भित्र हुन्छ। त्यसैले, हृदयघातको लक्षणहरू महसुस हुने बित्तिकै तुरुन्तै डाक्टरलाई भेट्नु धेरै महत्त्वपूर्ण छ।
हृदयघातको सबैभन्दा ठूलो कारण कोरोनरी आर्टरी सम्वन्धी रोग हो। यस अवस्थामा, मुटुका धमनीहरूमा तरल बोसोयुक्त पदार्थ जम्मा हुन्छ, जसले गर्दा धमनीहरू साँघुरिँदै जान्छन् र रगतको प्रवाह अवरुद्ध हुन थाल्छ।
अमेरिकामा प्रत्येक वर्ष लगभग ८ लाख ५ हजार मानिसहरूलाई हृदयघात हुन्छ। यी मध्ये ६ लाख ५ हजार मानिसहरू पहिलो पटक यो अवस्थाको सामना गरिरहेका हुन्छन् भने २ लाख मानिसहरू पहिले नै हृदयघातको शिकार भइसकेका बताईन्छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, यो तथ्याङ्कले प्रत्येक ४० सेकेन्डमा एक जनालाई हृदयघात हुने देखाउँछ।
हृदयघात हुँदै छ भनेर कसरी थाहा पाउने ?
तपाईँलाई हृदयघात हुँदैछ भने धेरै प्रकारका लक्षणहरू देख्न सकिन्छ, तर सबैभन्दा सामान्य लक्षण छाती दुखाइ हो। यो दुखाइ प्रायः तीव्र हुँदैन तर भारी दबाब र कसिलोपन जस्तो महसुस हुन्छ।
केही महिलाहरूले छातीमा साथै घाँटी र दुवै हातमा यो दुखाइ महसुस गर्न सक्छन्।
क्यालिफोर्नियाकी मुटुरोग विशेषज्ञ डा. एलिन बार्सेघियन भन्छिन्, ‘हृदयघातको सुरुवात प्रायः एसिडिटी जस्तो महसुस हुन सक्छ। यद्यपि, एसिडिटीको विपरीत, हृदयघातले शरीरका अन्य भागहरू जस्तै बायाँ हात, बङ्गारा, ढाड र पेटमा पनि दुखाइ निम्त्याउन सक्छ।’
यस बाहेक, लक्षणहरूमा चक्कर लाग्ने, टाउको दुख्ने, अत्यधिक पसिना आउने, सास फेर्न गाह्रो हुने पनि हुनसक्छ ।
यद्यपि केही हृदयघात अचानक हुन्छन्, कहिलेकाहीँ यसको लक्षणहरू केही घण्टा वा दिन अघि देखिन थाल्छन्।
यदि कुनै व्यक्तिलाई छाती दुखिरहेको छ र आराम गर्दा पनि यो निको भइरहेको छैन भने, यो चेतावनी हुन सक्छ।
डा. एलाइन बार्सेघियन भन्छिन्, ‘यदि तीन घण्टा भित्र रगत प्रवाहमा सुधार भएन भने, त्यसबाट प्रभावित मुटुका मांसपेशीहरू मर्न थाल्छन्। यस्तो बेलामा मैले ती बिरामीलाई म एम्बुलेन्स नआउन्जेल एस्पिरिन (औषधी) लिनका लागि सिफारिस गर्छु।’
विशेषज्ञहरूले भन्छन्, ‘यदि तपाईंलाई हृदयघात भएको महसुस हुन्छ भने, तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस्।’
अमेरिकी हृदयरोग विशेषज्ञ डा. इभान लेभिन भन्छन् ‘व्यक्ति स्वयं आफ्नो स्वास्थ्य सम्वन्धी जोखिमहरूसँग परिचित हुनुपर्छ।’
उनी भन्छन्, ‘एक व्यक्तिले आफ्नो उमेर, तौल, धूम्रपान, मद्यपान गर्ने बानी साथै आफ्नो पारिवारिक इतिहास जान्नुपर्छ।’
उनी अगाडी थप्छन्, ‘यदि यी सबै थाहा छ र तपाईंलाई छाती दुख्ने महसुस भइरहेको छ भने, तपाईंले तुरुन्तै उपचारको लागि डाक्टरलाई सम्पर्क गर्नुपर्छ।’
हृदयघातबाट कसरी बच्ने ?
हृदयघातको जोखिम कम गर्ने धेरै तरिकाहरू छन्। सन्तुलित आहार र व्यायाम मार्फत व्यक्तिले रक्तचाप र कोलेस्ट्रोलको स्तर कम गर्न सक्छ।
कोलेस्ट्रोल व्यक्तिको रगतमा पाइने पदार्थ हो जसले स्वस्थ कोषहरू सिर्जना गर्दछ, तर केही खराब कोलेस्ट्रोलहरू छन् जसको वृद्धिले हृदय रोगको जोखिम बढाउँछ।
मुटु रोग विशेषज्ञहरूले मुटुलाई बचाउन स्वस्थ र सन्तुलित जीवनशैली अपनाउनु धेरै महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिन्छन्।
डाक्टरहरू भन्छन्, ‘स्वस्थ हुन चाहने व्यक्तिले कम बोसो र बढी फाइबर भएको खाना खानुपर्छ। साथै, नुनको सेवन दिनमा छ ग्रामभन्दा बढी हुनु हुँदैन, किनभने बढी नुन खाँदा रक्तचाप बढ्न सक्छ। अल्ट्रा-प्रशोधित खाना र संतृप्त बोसो भएको खानाबाट बच्नुपर्छ किनभने यसले व्यक्तिको रगतमा कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ। त्यस्ता खानाहरूमा मासु पाई, केक, बिस्कुट, ससेज, बटर र पाम तेलबाट बनेका उत्पादनहरू समावेश छन्।’
सन्तुलित आहारमा असंतृप्त बोसो समावेश गर्नुपर्छ किनभने यसले शरीरमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ र मुटुको धमनीहरूलाई स्वस्थ राख्छ र तिनीहरूमा रक्तसञ्चार राम्रो हुन्छ। यसका लागि खानामा माछाको तेल, एभोकाडो, बदाम र वनस्पति तेल समावेश हुनु जरुरी छ । यी खानेकुराहरूको सेवनले व्यक्तिले आफूलाई स्वस्थ राख्न सक्छ।
मुटुरोग विशेषज्ञ डा. इभान भन्छन्, ‘मुटु स्वस्थ राख्न चाहने व्यक्तिले हप्तामा कम्तिमा पाँच दिन र हरेक दिन ३० मिनेट व्यायाम गर्नुपर्छ।’ उनी अगाडी थप्छन्, ‘यदि तपाईं स्वस्थ रहन चाहनुहुन्छ भने, धुम्रपान नगर्नुहोस्।’
अमेरिकन हार्ट एसोसिएसनले २४ हजार ९२७ व्यक्तिहरूमा एक अध्ययन गरेको छ। यो अध्ययन्ले देखायो कि विद्युतीय चुरोट प्रयोग गर्ने व्यक्तिलाई पनि अर्को पुरानो चुरोट सेवन गर्ने व्यक्तिमा जत्तिकै जोखिम हुन्छ।
सम्पर्क इमेल : [email protected]