औषधीको मूल्यमा सुझाव दिन गठित समितिले बुझायो प्रतिवेदन, व्यवसायीको बिरोध

काठमाडौँ, २७ जेठ । औषधीको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै औषधीको मूल्य नीति सुझाव समिति संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे ।

उपभोक्तलाई उचित मूल्यमा औषधी उपलव्ध गराउनका लागि सुझाव दिन भदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत ६ कात्तिकमा डा पाण्डेको संयोजकत्वमा समिति गठन गरेका थिए । समितिको सदस्यहरुमा स्वास्थ्यविद् डा अर्पना न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवी प्रसाद प्रसाई, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाल, नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रधान रहेका छन् । समितिको सदस्य सचिव भने औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल हुन् ।

१४५ पृष्ठको प्रतिवेदन बुझेपछि मन्त्री पौडेलले विषयबस्तुहरु गहकिला आएको बताए । ‘लामो समयमसम्म औषधिको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिए पछि समायोजनका लागि समिति गठन गरेका हौँ । धेरै समय लिएर समितिले गहिरोसंग अध्ययन गरेर प्रतिवेदन तयार गरेको विश्वास गरेको छु,’ मन्त्री पौडेलले भने ।

उनले प्रतिवेदन तयार गर्नका लागि बहुपक्षीय समिति बनाएको र समितिले प्रमुख सरोकारवाला पक्षसंग छलफल गरेको आफूले पाएको बताए । उनले भने, त्यसैले यो सर्वसम्मत रुपमा प्रतिवेदन तयार भएको हामीले पाएका छौँ । तर उनले त्यसो भने पनि समितिको सदस्य नेपाल औषधी उत्पादक संघ (एपोन)ले भने प्रतिवेदनमा आफ्नो असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेको बताएको छ । समितिका सदस्य एवं एपोन अध्यक्ष महेश प्रधानले आफूले प्रतिवेदनमा अहमति दर्ज गरेको बताए ।

मन्त्री पौडेलले भने अहिले आएको प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने यसमा छुटेका विषय बस्तुहरुलाई समेटने र आवश्यक परेमा थप छलफल समेत गर्ने बताए । उनले आफूले पहिलो प्राथमिकतामा जनताको सर्बोपरि हित रहने भन्दै अन्य पक्षलाई पनि समेटेर लैजाने पक्षमा आफू रहेको स्पष्ट पारे ।

मन्त्री पौडेलले नागरिकले उचित मुल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशिल रहेको भन्दै प्रतिवेदनलाई पेशागत र व्यवसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढंगले अघि बढ्ने बताए ।

‘हामीले स्वास्थ्यमा सुधार गर्न खोको क्षेत्र औषधि पनि हो,’ उनले भने, ‘मूल्यमा आधार नबन्दा समस्या छ । प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्वपूर्ण हुन्छ ।’

मन्त्री पौडेलले महँगो मूल्यमा किन्नु परिरहेको छ भने त्यसलाई अन्त्य गर्न खोजिएको भन्दै मूल्यबारे उपभोक्तालाई सुसूचित बनाउने परिस्थिती निर्माण गर्न खोजिएको बताए ।

समिति संयोजक डा पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताए । उनले प्रतिवेदनमा आयुर्वेदिक, भेटनरी तथा मेडिकल डिभाईसको विषय नपरेको बताए ।

उनले नेपालमा कस्ता औषधि प्रयोग हुन्छन्, छिमेकी मुलुकमा यस सम्वन्धी के व्यवस्था छ, भारत बंगलादेश, श्रीलंकामा यसको मूल्य कसरी पुनरावलोकन भएको छ ? विभागको संस्थागत क्षमता के छ ? भन्नेबारेमा अध्ययन गरेको बताए । अत्यावश्यक औषधीको सूची र मूल्य, आयात गरिएका औषधीको सूची र मूल्य अनि उत्पादन गरिएका औषधीको सूची र मूल्य कसरी तय भएको छ भन्ने विषयमा पनि प्रतिवेदनले उल्लेख गरेको बताए ।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए ।

के छ प्रतिवेदनमा ?

समितिले मन्त्रालयलाई मूल्य समायोजनका लागि मूल्य हेर्ने एकाइ र निर्धारण समिति व्यवस्था गर्न सुझाव दिएको छ ।

हरेक दुई वर्षमा मूल्य समायोजनका लागि समितिले सुझाव दिएको संयोजक डा. पाण्डेले बताए ।  यसैगरी क्षेत्रगत आधारमा औषधि मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ ।

हाल नियमन भैरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।

व्यवसायीले गरे प्रतिवेदनको बिरोध

यसैबीच आज मन्त्रीलाई प्रतिवेदन बुझाउने कुरा सार्वजनिक भएपछि औषधि उत्पादक, आयातकर्ता तथा व्यावसायीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन बुझाउनका लागि निस्कन लागेका टोलीलाई विभागबाटै रोक्ने कोशिस समेत गरेका थिए ।

‘प्रतिवेदनमा न उत्पादक, न आयातकर्ता र न व्यवसायीहरुको कुरा सुनुवाई भएको छ ? यो प्रतिवेदन कार्यान्वयन भएन भने औषधीको उपलव्धतामा बाधा हुन्छ र जनताले औषधी नपाएर मर्नु पर्ने अवस्था आउँछ,’ एक जना व्यवसायीले भने ।

उनीहरुले विभागमा विरोध जनाई रहँदा यता मन्त्रालयमा भने टोलीले मन्त्री समक्ष प्रतिवेदन बुझाइरहेको थियो ।

औषधीको मूल्यमा सुझाव दिन गठित समितिसंग जोडिएका यी समाचार पनि पढ्नुहोस्……………..

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *