पतन्जली जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपालबिरुद्ध मुद्धा दायर, सांसद पद निलम्बन

काठमाडौँ, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचमा भूमिका निर्वाह गरेको भन्दै आयोगले नेपाल ९३ जना बिरुद्ध मुद्धा दायर गरेको हो ।

उनीहरुमाथि हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप  लागेको छ ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायत ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्रोतका अनुसार दायर मुद्धामा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी गरिएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि पहिलोपटक हो ।

यता एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *