सुर्तीजन्य पदार्थ त्याग्न संकल्प गराउँदै स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, १८ जेठ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बढानीलकण्ठका आम सर्वसाधारणलाई सुर्तीजन्य पदार्थको बिक्री बितरण र प्रयोग नगर्न संकल्प गराएका छन् ।

शनिबार विश्व सुर्तीजन्य रहित दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालको आयोजना तथा बुढानीलकण्ठ नगरपालिकाको सह आयोजनामा बुढानीलकण्ठ मन्दिर परिसरमा भएको कार्यक्रममा उपस्थित सर्वसाधारणको समूहले मन्त्री समक्ष धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने र त्यसको खरीद विक्रीमा समेत सामेलन हुने संकल्प गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थ सेवनको सामाजिक, आर्थिक र मानसिक असर गम्भीर रहेको उल्लेख गरे । युवाहरू भविष्यका आधारशिला हुन भन्दै मन्त्री पौडेलले अगाडी थपे, ‘तर यिनै युवाहरु नै यस्तो लतमा फस्दै गएका छन्, जुन उनीहरूको सम्भावनालाई नष्ट गरिरहेको छ। विद्यालय, क्याम्पस र समुदायका प्रत्येक तहबाट यसको विरुद्ध आवाज उठ्नु पर्छ।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले राज्यका केही निकायहरू राजस्वको मोहमा यस्ता उद्योगहरूलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेको उल्लेख गर्दै ती उद्योगहरूले नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको बताए।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्ज्वल चालिसेले सुर्तीजन्य पदार्थको सेवनबाट हुने असरबारे जानकारी दिदै यसको न्युनिकरणका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

सो अवसरमा कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनको असरले हुने जोखिम बारे सडक नाटकसमेत देखाइएको थियो भने त्यस अघि शनिबार बिहान बुढानिलकण्ठ मन्दिरबाट जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको थियो ।

‘सुर्ती उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ भन्ने नाराका साथ शनिबार विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *