निर्देशिका बिपरित विद्युतीय चुरोटको आयातलाई बजेटबाटै निरन्तरता
काठमाडौँ, १७ जेठ । नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको लत लगाउने विद्युतीय चुरोट कानून त उत्पादन, आयात, विक्री वितरण गर्न पाईदैन । तर दुई वर्ष अघि मात्रै ३२ अर्व बढीको यस्ता डिभाइसहरु भित्रिएका थिए ।
गतवर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले १० बर्ष अघि बनेको निर्देशिका उल्लेख गर्दै यसरी विद्युतीय चुरोट आयात गर्न नमिल्ने अर्थ मन्त्रालयलाई औपचारिक पत्र मार्फत ध्यानाकर्षण गराएको थियो । तर, तत्कालीन अर्थ मन्त्री बर्षमान पुनले बजेट मार्फत त्यसलाई बैधता दिलाएका थिए ।
उनले प्रस्तुत गरेको बजेट र त्यस लगत्तै आएको अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८१ मा विद्युतीय चुरोट (भेप) मा ४० प्रतिशत कर लगाउने उल्लेख थियो ।
त्यो बैधतालाई यसपटक अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका उपप्रधान मन्त्री विष्णुप्रसाद पौडेलले पनि निरन्तरता दिएका छन् । यसपटक जारी भएको आर्थिक विधेयकमा पनि गतवर्ष जस्तै करको निरन्तरता छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटका उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्धन तथा विज्ञापन गर्न पाउने छैन भनिएको छ । केन्द्रले सोही निर्देशिकाको दफा उल्लेख गरेर त्यसलाई पूर्ण कार्यान्वयन गर्न भनेको थियो ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो निर्देशिकामा भएको व्यवस्थाबारे यसपटक पनि अर्थ मन्त्रालयलाई जानकारी गराएका थिए । तर अर्थले स्वास्थ्यले बनाएको सो निर्देशकाको व्यवस्था लत्याई दिएको छ । गतवर्ष अर्थ मन्त्री पुनले सुरु गरेको इ सिगरेटको वैधानिकतालाई यसपटक उपप्रधान एवं अर्थ मन्त्री पौडेलले पनि निरन्तरता दिएका छन् ।
नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट लाग्ने रोगका कारण बार्षिक ३९ हजार २०० बढीको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । त्यसैले यसको प्रयोगलाई नियन्त्रण गर्न स्वास्थ्यले ऐन तथा निर्देशिकाहरु बनाएर जारी गरेको हो ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द विद्युतीय चुरोटलाई नियन्त्रण गर्नु पर्नेमा उल्टै आयातलाई बैधानिकता दिनु दुखद भएको बताउँछन् । ‘नयाँ पिडीलाई सुर्तीजन्य पदार्थमा जानका लागि प्रोत्साहित गर्ने माध्यम अहिले विद्युतीय चुरोट बनेको छ । यस विषयमा सरकारलाई हामीले पटक पटक झक्झक्याएका हौँ । १० बर्ष अघि सरकारले नै बनाएको निर्देशिका कार्यान्वयन गरोस भनेका पनि हौँ तर बजेटमा झन करको दर उल्लेख भएर आयो । यो त झनै मिलेन,’ उनले भने ।
अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३२ लाख २३ हजार ६८७ थान विद्युतीय चुरोटको डिभाइस नेपाल भित्रिएको छ । ती डिभाइसहरु ९९ प्रतिशत चीनबाट र अरु अमेरिका, बेलायत, युनाइटेड अरब इमिरेट्स सहित नौ वटा देशबाट आयात भएको छ ।
भन्सार विभागले गतवर्ष भित्रिएको विद्युतीय चुरोटको भ्यालुएसन २१ करोड ३९ लाख गरेको छ भने १३ करोड ४६ लाख बढी कर उठेको जनाएको छ । स्वास्थ्यका अधिकारीहरुले नेपालमा भित्रिएको डिभाइसको मूल्य औषत १० हजार पर्ने र यसबाट बार्षिक करीब ३२ अर्व बढीको कारोवार हुने दावी गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले विद्युतीय पनि मानव स्वास्थ्यको लागि घातक पदार्थ हो भन्दै चुरोट, गुडखा जस्तै असरदार सूर्तीजन्य पदार्थ हो भनेको छ । तर, यसका उत्पादक तथा व्यापारीहरुले यो स्वास्थ्यका लागि कम हानिकारक हुन्छ भन्दै भ्रम छर्ने गरेका छन् । सोही भ्रममा परी नेपाली युवा विद्युतीय चुरोट तर्फ आकर्षित हुने गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विद्युतीय चुरोट पनि मानव स्वास्थ्यको लागि अन्य सूर्तीजन्य पदार्थ चुरोट, गुडखा जस्तै असरदार हो भन्दै यसमा स्पष्ट हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ । तर, यसका उत्पादक तथा व्यापारीहरुले यो स्वास्थ्यका लागि कम हानिकारक हुन्छ भन्दै भ्रम छर्ने गरेका छन् । सोही भ्रममा परी नेपाली युवा विद्युतीय चुरोट तर्फ आकर्षित हुने गरेका हुन् ।
विद्युतीय चुरोटका के कस्ता असर हुन्छन् ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विद्युतीय चुरोटमा निकोटिन र अन्य विषाक्त पदार्थ हुने भएकाले यसको सेवनले प्रयोगकर्तासँगै उनीहरूको छेउमा बस्ने मानिसलाई समेत घातक असर पर्ने जनाएको छ। उसले गर्भवती महिलाहरूमा निकोटिनले भ्रूणको विकासमा समेत प्रतिकूल असर पार्न सक्ने बताएको छ ।
यसबाहेक बालबालिका र किशोरकिशोरीहरूको मस्तिष्क विकासमा समेत नकारात्मक प्रभाव पार्नुको साथै दीर्घकालीन रूपमा एन्जाइटी समेत गराउन सक्छ।
डब्लुएचओले भनेको छ, ‘विद्युतीय चुरोटको प्रयोगले धूमपान नगर्ने युवाहरूमा लगभग तीन गुणा बढीले परम्परागत चुरोटको खपत बढाउँछ, त्यसैले यो सुरक्षीत हुँदै होईन ।’
यस्तै उसले विद्युतीय चुरोटको सेवन गरेपछि उत्पन्न हुने विषाक्त पदार्थहरूले क्यान्सर, मुटरोग र फोक्सोका रोगहरू निम्त्याउने बताएको छ ।
पछिल्ला समय भएका दर्जनौ अध्ययनले विद्युतीय चुरोटले फोक्सो, मुटु र रक्तनलीमा गम्भीर किसिमका असर गर्ने निष्कर्ष दिईसकेको छ । यसको सेवनले श्वासप्रश्वासमा समस्या हुनुको साथै हृदयाघात र मस्तिष्कघातको जोखिम समेत बढाउने चिकित्सकहरुले बताउँदै आएका छन् ।
उनीहरुका अनुसार विद्युतीय चुरोटमा पाइने निकोटिन नशालु पदार्थ मात्र होइन, अम्मल बढाउने, तलतल लगाउने तत्त्व पनि हो।
बीएमसी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार यसमा प्रोपिलिन ग्लाइकोल र ग्लिसिन जस्ता पदार्थ समेत मिसाइएको हुन्छ। त्यस्तै, एसेटालडिहाइड र फर्मालडिहाइड जस्ता रसायन पनि मिसाइएको हुन्छ, जसले क्यान्सर समेत गराउँछ।
फोक्सोमा लाग्ने गम्भीर खालको रोगको कारक मानिने घातक रसायन पनि विद्युतीय चुरोटमा राखिने अध्ययनमा उल्लेख छ।
फोक्सो रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डे विद्युतीय चुरोटको प्रयोग सामान्यतः युवाहरूले गर्ने र उनीहरूको प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा अन्य उमेर समूहका मानिसको भन्दा धेरै हुने हुँदा यसको प्रयोगका कारण उत्पन्न समस्याबारे तत्काल थाहा पाउन गाह्रो पर्ने बताउँछिन्। उनी भन्छिन्, विद्युतीय चुरोट प्रयोग गर्ने किशोरकिशोरीमा त्यसको असर थाहा पाउन कम्तीमा पनि पाँच वर्ष लाग्छ, सरकारले प्रतिबन्ध गर्न खोज्नु जायज छ ।’
हुन पनि चुरोटजन्य सुर्तीजन्य पदार्थमा ७ हजार बढी रसायनहरु रहन्छन् । त्यसमध्येका कम्तिमा २५० बढी रसायन मानव स्वास्थ्यका लागि बढी असरदार मानिन्छन् ।
अझै कम्तिमा ६९ वटा रसायन त मानव स्वास्थ्यमा क्यान्सर गराउने तत्वको रुपमा चिनिन्छ । त्यसैले अहिल्यै देखि सुर्तीजन्य पदार्थ छोडौँ र स्वस्थ जीवनसंगै स्वस्थ परिवार र स्वस्थ समाज निर्माणमा योगदान गरौँ ।
सम्पर्क इमेल : [email protected]