बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण शुल्कमा भारी बृद्धि
अब श्रमका लागि विदेश जानेले स्वास्थ्य परीक्षण शुल्क बापत नौ हजार ५०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ, चैत २१ गते । सरकारले बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले गर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्क एकैपटक तीन हजार रुपैयाँ बढाएको छ । शुल्क बढेपछि अब बैदेशिक रोजगारीमा जाने श्रमिकहरुले स्वास्थ्य परीक्षण शुल्क बापत नौ हजार ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यसअघि श्रमिकको स्वास्थ्य परीक्षण शुल्क छ हजार ५०० रुपैयाँ थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ कार्यविधि स्वीकृत गर्दै स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन सूचीमा उल्लेख भएका ३४ प्रकारका परीक्षणका लागि सो बराबरको रकम तोकिएको जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका व्यवसायीहरूले भने सरकारले आफूहरूसँग कुनै छलफल नै नगरी निर्णय गरेको जानकारी दिएका छन् ।
यता मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सरकारको निर्णय अनुसार अब वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने जानकारी दिए । उनले पछिल्लो निर्णयले श्रमिकको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको बताए ।
मन्त्रालयले स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको सूचनामार्फत जानकारी गराएको छ ।
स्वास्थ्य परीक्षण गर्ने संस्थाको नियमनलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको भन्दै सूचीकृत स्वास्थ्य संस्थाले सूचना प्रकाशन भएको मितिदेखि दुई महिनाभित्र आवश्यक पूर्वाधार तयार गरी मन्त्रालयबाट आफैँले निरीक्षण गर्ने व्यवस्था गरिएको छ । तोकिएको समयसीमाभित्र पूर्वाधार तयार नगर्ने संस्थाको सूचीकरण तथा नवीकरण खारेज गरिनेसमेत सूचनामा उल्लेख छ ।
त्यस्तै स्वास्थ्य परीक्षण प्रणालीलाई आधुनिक बनाउन सरकारले विद्युतीय प्रणालीमार्फत रिपोर्ट अपलोड गर्ने अनिवार्यता पनि लागु गर्ने भएको छ । यसका लागि विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको अन्तिम स्वीकृति अब स्वास्थ्य परीक्षण प्रतिवेदन विभागमा अनिवार्य रूपमा अपलोड गरेपछि मात्रै प्रदान गरिने सूचनामा उल्लेख छ । मन्त्रालयको सूचना अनुसार श्रमिकको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार थप सचेत रहेको छ । यसै सन्दर्भमा पूर्वप्रस्थान तालिममा स्वास्थ्यसम्बन्धी नयाँ विषय समावेश गर्न वैदेशिक रोजगार बोर्डलाई पत्राचार गरेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६ बमोजिमको विशेषज्ञ समितिको सिफारिसमा उक्त निर्णय कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
