अब मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्वन्धि रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान सञ्चालन गरिने

48
Shares

काठमाडौं, १७ मंसिर । नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न भन्दै सरकारले एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन् ।

मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्वन्धि रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ ।

मन्त्री पौडेलले गत २७ साउनमा योजना तथा प्राथमिकतामा सार्वजनिक गर्दा रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरु जनस्तरमा पुर्‍याउने उल्लेख गरेका थिए ।

सोही अनुरुप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिनो अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेको बताएका छन् ।

अहिले देशैभर मिर्गौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने बिरामीको संख्या बढिरहेको छ । संख्या बढेका कारण भएका डायलसिस गराउने संरचनामा दबाब परिरहेको छ ।

यसैगरी खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुबैले मार खेप्नु परिरहेको छ ।

‘बिरामी भए पछि हुने उपचारका लागि हामीले ठूलो श्रोत साधन खर्चनु परिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँग सँगै लाग्नेछौं ।’  उनले शुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित श्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौला फेल हुने, उच्च रक्तचाप, मधुमेह लगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको देखाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *