कान्तिपुर डेन्टल कलेजमा न्युरोमस्कुलर डेन्टिष्ट्रि विभाग थपिदै

काठमाडौँ, १३ असार । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज (केडीसी)ले न्युरोमस्कुलर डेन्टिष्ट्रि विभाग सञ्चालनमा ल्याउने भएको छ । (*) काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले शुक्रबार यो विभागको उद्घाटन गर्ने कार्यक्रम रहेको केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिए ।
अनुहारको हाड जोर्नी (टीएमजी)को समस्या मोटोपन वा अन्य कारणले घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृति नमिलेको समस्या, खेलकुद सम्वन्धि दन्त चिकित्सक जस्ता समस्याहरुको लागि विना शल्यक्रिया वा शल्यक्रियासहितको उपचार सेवा दिनका लागि यो विभाग खोलिएको केडीसीले जनाएको छ ।
त्यसो त केडीसीमा विसं २०७३ साल देखि नै आथ्र्रोस्कोपी, दाग विनाको टीएमजे सर्जरी र टीजेआर (अनुहारको हाड जोर्नी प्रत्यारोपण) जस्ता सेवाहरु सञ्चालनमा छ । तर यसपटक आफूहरुले यी सेवालाई थप परिस्कृत गर्नका लागि विश्वकै उत्कृष्ठ मानिने ‘के ७’ भनिने ज ट्रयाकर, ‘जे ५’ टेन्स, ओक्लुसेन्स, निद्रा तथा घुर्ने समस्या अध्ययन गर्ने जस्ता नयाँ उपकरण भित्र्याएको अध्यक्ष डा. श्रेष्ठले बताए ।
‘यस किसिमको बहु विभागीय चिकित्सा सेवा एउटै छानामुनी विश्वभरमा नै बिरलै मात्रै स्थापना भएको हुन्छ । यसमा न्युरोमस्कुलर डेन्टिष्ट्रि, क्रेनियोफेसियल सर्जरी, इएनटी, स्लिप मेडिसिन, न्युरोलोजी, अर्थो डोन्टिक्स, लगायतका अन्य दन्त सेवा विभागको सहकार्य रहने छ,’ डा. श्रेष्ठले थपे ।
नयाँ सेवाका लागि दन्त विशेषज्ञ चिकित्सहरु डा. अंकित शाह, डा. प्रतिक्षा श्रेष्ठ र बरिष्ठ क्रेनियोफेसियल सर्जन डा. सुमित सिंह क्रियाशिल रहने केडीसीले जनाएको छ । उनीहरु विश्वचर्चित संस्था इन्टरनेशनल कलेज अफ क्रेनियोमाण्डीबुलर अर्थोेडिक्स (आईसीसीएमओ) अन्तर्गत विश्वको विभिन्न ठाउँमा स्थापित शाखा संस्थामा तालीम तथा फेलोसिप लिएका चिकित्सकहरु भएको समेत उल्लेख गरेको छ ।
नेपालमा करीब दश मध्ये ४ अर्थात ४० प्रतिशतमा अनुहारको हाडजोनी (टीएमजे)को समस्या देखिन्छ । तर यी बिरामीहरु समयमै उपचारका लागि सही ठाउँमा पुग्न सकेका छैनन् ।
‘अब भने यस्तो समस्या भएका व्यक्तिले केडीसीमा सेवा छ भनेर आउँदा धेरै सहज हुन्छ,’ डा. श्रेष्ठले पुन थपे । उनले नेपालमा सर्वसाधारणमा अधिकतम संख्यामा देखिने तर जटिल नमानिने यस्ता समस्याको बहु विभागीय दन्त चिकित्सा सेवा प्रदान गर्न चिकित्साशास्त्र अन्तर्गत दन्त स्वास्थ्यको दशौँ विधाको रुपमा स्थापित भएको समेत बताए ।
(* यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ । – सं)
सम्पर्क इमेल : nepalihealthnews@gmail.com





नेपाली हेल्थ 

