स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

काठमाडौँ, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् ।
उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरु माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् । उनले स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्नुपर्ने बताइन् ।
सांसद कार्कीले भनिन्, ‘‘स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरुलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने बातावरण बनाइयोस् । कापिँरहेको हातले उपचार गर्न सक्दैनँ । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन । जसरी सुरक्षाकर्मीहरुमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरुलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया सुरु गर्नुपर्छ ।’’
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

