पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप लगाइने

144
Shares

 

काठमाडौँ, ६ असार । जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।

गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा.अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

“काठमाडौँमा श्रम क्षेत्र र खोला किनारामा पनि कतिपय बसोबास गरिरहेका बालबालिकालाई खोप लगाउन छुटेको छ कि भन्ने हाम्रो अनुमान छ”, उनले भने, “त्यस्ता खोप लगाउन छुटेका बालबालिकालाई हामीले पुनः खोप लगाउनेछौँ ।” उनका अनुसार असार मसान्तभित्र नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ । उनले खोप केन्द्रमा ती छुटेका बालबालिकालाई प्रत्येक हप्ता खोप लगाइने बताए ।

काठमाडौँ जिल्लामा रहेका ११ स्थानीय तहमा ९७ हजार तीन सय ८० बालबालिकालाई खोप लगाउने लक्ष्य राखे पनि ९२ हजार नौ सय ९८ बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइएको थियो ।

सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउने लक्ष्य राखेको छ । खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नु परेको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *