बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान
छुटेका ८ जनालाई पनि भर्ना दिने निर्णयको पत्र बङ्गलादेश सरकारले पठायो

काठमाडौँ, ९ जेठ । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको हो।
बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो।
तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो। यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिईन ।
यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीहरूमा अन्यौलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबै जनाप्रति कृतज्ञता व्यक्त गरेकी छन् । बुधबार नै उनले सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गरिन ।
खुशी हुँदै मन्त्रालय पुगेका विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठले नयाँ ठाँउमा नयाँ सँस्कृतिमा घुलमिल हुन समय लाग्न सक्छ भन्दै आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्न तथा मिहेनत गरेर सफल भएर स्वदेशको सेवाका लागि फर्कनु भन्दै शुभकामना दिईन ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



