पाल्पामा ९ हजार ४६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

पाल्पा, ७ जेठ । पाल्पामा पनि आगामी १३ जेठ देखि बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन हुने भएको छ ।
दुई चरणमा हुने अभियानमार्फत ९ हजार ४६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरीले बताए ।
उनका अनुसार विसं २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।
नेपालमा २०७३ जेठदेखि २०७५ भाद्रसम्म आईपीभी खोपको अभाव भएको थियो ।
पाल्पामा १३ जेठ देखि २३ जेठसम्म दुई चरणमा खोप लगाइनेछ । स्वास्थ्य कार्यालयले खोप लगाउन जिल्लामा ५२९ वटा खोप केन्द्र निर्धारण गरेको छ जसमा विद्यालयमा ४४८ र खोप केन्द्र स्वास्थ्य संस्थामा ८१ केन्द्र छन् ।
खोप अभियानका लागि जिल्लास्तरको अभिमुखीकरण सकिएको र पालिकास्तरमा तालिम सञ्चालन भइरहेको डा गिरीले बताए ।
अभियान अन्तर्गत नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।
बालबालिकालाई पोलियो रोग लाग्नबाट जोगाउनका लागि यो अभियानमा सबै अभिभावकले आफ्ना बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप लगाउनका लागि सहयोग गर्न समेत डा गिरीले आग्रह गरे ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

