बाँकेमा २८ हजार बालबालिकालाई जेठ १३ गतेबाट पोलियो विरुद्धको ‘आईपिभी’ खोप दिईँदै

बाँके, ३ जेठ । बाँके जिल्लामा पोलियो रोग विरुद्धको ‘आईपिभी’ खोप अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनले सो खोप अभियान सञ्चालन गर्नुअघि त्यसको तयारीका लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको बताए। स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लगायतलाई सो बारेमा अभिमुखिकरण गरेको छ ।

खोप फोकल पर्सन श्रेष्ठका अनुसार पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ आईपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई उक्त खोप दिइनेछ ।

आईपिभी खोप अभियानमार्फत बाँकेमा २८ हजार २५१ जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले जानकारी दिए । उनले लुम्बिनी प्रदेशमा २ लाख ५३ हजार ७९ जनालाई खोप दिने लक्ष्य राखिएको बताए ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नेपालभर १४ लाख ६२ हजार ७१२ जनालाई आईपिभी खोप दिने लक्ष्य निर्धारण गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *